पौष ४ काठमाडौं पुर्व सभामुख कृष्ण बहादुर महरा बलात्कार काण्डमा मुछिएपछि रिक्त भएको प्रतिनिधिसभाको सभामुखको चयन प्रक्रिया ११ पुसबाट शुरु हुने भएको छ । शुक्रबार दिउँसो बसेको कार्य व्यवस्था समितिको बैठकले ११ पुसबाट सभामुख चयन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
संसद अधिवेशन र सभामुख निर्वाचनको प्रक्रियालाई लिएर बिहीबार नेकपा र कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो । उपसभामुख तुम्बाहाम्फेले संसदको हिउँदे अधिवेशनको पहिलो बैठक सञ्चालन गर्ने अनौपचारिक सहमति पनि दुवै दलका नेताहरुबीच भएको स्रोतले जनाएको छ ।
हिउँदे अधिवेशन भने शुक्रबारबाटै शुरु हुँदैछ । पहिलो बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङ्फेले नै गर्न दलहरु सहमत भएका छन् । बैठक शुरु गर्न अगाडि बसेको परामर्श समितिको बैठकले पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारीले संसद शुरु गर्न पठाएको पत्र पेश गर्ने र निधन भएका पूर्व सांसदहरु शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।