काठमाडौँ । विवेकशील साझा पार्टीले नक्कली शरणार्थी प्रकरणलाई परिणाममुखी निष्कर्षमा यथासिघ्र पुर्याउन सरकारसँग माग गरेको छ ।
शुक्रवार एक प्रेष विज्ञप्ती जारी गर्दै सो पाटीले शरणार्थी प्रकरणमा दलीय पूर्वाग्रहका कारण दोषीलाई उन्मुक्ति दिइए भयावह अवस्था सृजना हुन सक्ने तर्फ सचेत गराउँदै निष्पक्ष र पूर्वग्रहरहित ढंगले छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउनुपर्नेमा जोडदार माग गरेको हो ।
विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार सूचीमा हरेक वर्ष संसारका भ्रष्ट मुलुकहरूको अग्रसूचीमा नेपाल उक्लिरहेको तथ्यांकबीच नेपाल नक्कली भुटानी शरणार्थी प्रकरणमा विश्वमै लज्जास्पद रुपमा चित्रण भइरहेकोप्रति पार्टीको विशेष ध्यानाकर्षण भएको प्रेष विज्ञप्तीमा उल्लेख गरेकी छिन् ।
अध्यक्ष बास्कोटाद्वारा हस्ताक्षरित उक्त विज्ञप्तीमा भनिएको छ,–‘नक्कली शरणार्थी प्रकरणमा संलग्न उच्च पदस्थ कर्मचारी र राजनीतिक दलका उच्च तहका नेताहरूसम्मलाई छानविनको दायरामा ल्याएर प्रशंसनीय काम गरिरहेकोप्रति विवेकशील साझा पार्टी सरकारलाई विशेष धन्यवाद दिँदै ऐक्यवद्धता प्रकट गर्दछ।’
उनले सरकारले थालेको भष्ट्राचारविरुद्धको अभियानका लागि आभार प्रकट गर्दै आफ्नो पार्टीको ऐक्यवद्धता रहने समेत उल्लेख गरेकी हुन् ।
‘नक्कली शरणार्थी प्रकरण भ्रष्टाचारसँग सम्बन्धित विषय मानवता विरुद्धको सङ्गठित अपराध भएकाले अन्तराष्ट्रिय जगतमा समेत नेपालको साख गुमिरहेको यो प्रकरणलाई सार्थक टुङ्गोमा पुर्याई दोषीलाई कारवाही गर्न कुनै प्रकारको दबाब, प्रभाव र राजनीतिक सौदाबाजीमा नपर्न विवेकशील साझा पार्टी सरकारसँग जोडदार माग गर्दै निरन्तर खबरदारी गरिरहने प्रण गर्दछ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कुनै पनि खाले दवाव र प्रभावबाट उन्मुक्त रहि सरकारले दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिदैँ विज्ञप्तीमा अगाडि थप भनिएको छ – ‘नक्कली शरणार्थी प्रकरणमा उच्च नेता, कर्मचारी र उनीहरूका आफन्त समेत प्रत्यक्ष जोडिएकाले नेपाली परम्परागत राजनीतिको कुरूप तस्वीरलाई नागरिकहरूले कसरी सहीरहेका छन भन्ने टड्कारो सवाललाई नजरअन्दाज नगर्न दलका नेता, कर्मचारी र सरोकारवालाहरूलाई स्मरण गराउँदै विवेकशील साझा पार्टी भ्रष्टाचार विरुद्ध शून्य सहनशीलतामा विश्वास गर्ने पार्टी भएको पुनः स्मरण गराउन चाहन्छौँ।’
‘विवेकशील साझा पार्टी नक्कली शरणार्थी प्रकरणलाई सार्थक र परिणाममुखी निष्कर्षमा पुर्याई जनमानसमा सकारात्मक सन्देश दिएर भ्रष्टाचारका अन्य चर्चित काण्डहरू वाइडबडी, यति, ओम्नी, एनसेल, ३३ केजी सुन, सेक्युरिटी प्रिन्टिङ प्रेस , सत्तरी करोड, सिसिटिभी फुटेज काण्ड, लडाकु शिविर, फोरजी, बालुवाटार जग्गा प्रकरण लगायतका भ्रष्टाचार काण्डलाई छानविन गरी दोषीलाई कारवाही गरेर दण्डहीनताको अन्त्य गर्न सरकारसँग जोडदार माग गर्दछ। सबै प्रकारका भ्रष्टाचार विरुद्ध विवेकशील साझा पार्टीको पूर्ण ऐक्यवद्धता रहेको पुनः दोहोर्याउन चाहन्छौँ।’
साथै, विवेकशील साझा पार्टीले नक्कली भुटानी शरणार्थीसँगै अन्य ठूल्ठूला भ्रष्टाचारका काण्डहरुमा पनि छानविन र अनुसन्धान हुनुपर्नेमा जोडदार माग राख्दै भ्रष्टाचार विरुद्धको आफ्नो पूर्ण साथ र समर्थनको प्रतिबद्धता विज्ञप्तीमार्फत दोहोर्याएकाे छ ।