काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठुलो स्रोत, साधनको उपयोग गर्दा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् ।
सोमबार नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यशाला सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
उनले उपलब्ध स्रोत, साधनहरु अनुत्पादक र कम उत्पादक क्षेत्रहरुमा केन्द्रीत हुँदापनि अर्थतन्त्रमा समस्या देखिएको बताएका हुन् । उनले बैंकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा मुलुकभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव भने अत्यन्त न्यून देखिएको भन्दै यसतर्फ समयमै उचित कदम चाल्न ध्यानाकर्षण गराए ।
उनले भने, ‘बैंकिङ क्षेत्रको विकास र विस्तारबाट देशमा वित्तिय पहुँच बढेको छ । कर्जा लगानीमा भएको वृद्धिबाट हरेक क्षेत्रमा आर्थिक क्रियाकलाप बढाउन मद्दत पनि पुगेको छ । तर बैंकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा मुलुकभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव भने अत्यन्त न्यून देखिन्छ । त्यसैगरी सिमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठुलो स्रोत, साधनको उपयोग गर्ने, उपलब्ध स्रोत, साधन प्रत्यक्ष, अप्रत्यक्ष रुपमा अनुत्पादक वा कम उत्पादक क्षेत्रमा केन्द्रीत हुने जस्ता समस्या पनि यस बिचमा राम्रैसँग देखिएका छन् । अहिले अर्थतन्त्रमा समस्या देखिनुमा यस्तै अनपेक्षित क्रियाकलाप पनि धेरै हदसम्म जिम्मेवार रहेका छन् । यस्तो प्रवृत्तिलाई रोक्न केन्द्रीय बैंक तथा बैंकिङ क्षेत्रले समयमै उचित कदम चाल्नु आवश्यक छ । हाम्रो अर्थतन्त्रले आन्तरिक र बाह्य कारणले सिर्जना भएका चुनौतीको उच्चतम बिन्दु पार गरिसकेको छ । आगामी परिदृश्य राम्रो रहेको छ । पर्यटन प्रवद्र्धनमा गरिएको लगानी र कोभिड महामारीपछि विश्वभर पर्यटन क्षेत्रमा बढेको चहलपहलबाट आगामी शरद ऋतुमा नेपालको पर्यटन क्षेत्र कोभिड महामारीपूर्वकै अवस्थामा फर्कने प्रष्ट संकेत देखिएको छ ।’
प्रधानमन्त्री दाहालले उत्पादन र रोजगारी वृद्धितर्फ देशले प्रगति हासिल गर्न नसकेको बताए । उनले दैनिक उपभोग्य वस्तुहरुको ठुलो मात्रामा आयात गर्नुपरेकाले व्यापार घाटा चुलिदै गएको उल्लेख गर्दै सरकारको नीति, योजना र कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा यस्तो भएको बताए ।
उनले भने, ‘मेरो नेतृत्वमा सरकार बनेदेखि सुरुदेखि नै अर्थतन्त्रमा देखा परेका चुनौती सामना गर्न केही महत्वपूर्ण कदमहरु चालिएका छन् । सुशासन, समृद्धि तथा सामाजिक न्याय लक्षित विभिन्न नीति र कार्यक्रमहरु कार्यान्वयनमा लान सुरु गरिएको छ । सार्वजनिक सेवा प्रवाह हुने ठाउँमा लामो लाइन बस्नुपर्ने र बिचौलियाहरुबाट ठगिनुपर्ने अवस्थामा उल्लेख्य सुधार आएको छ । विद्यालयहरुमा समयमै पाठ्यपुस्तक पुग्यो भन्न पाउँदा पनि मलाई गर्वको महशुस हुन्छ । किसानहरुले बेलैमा मल पाउनेगरी मलको आपूर्ति पनि सुनिश्चित हुँदैछ । अनियमितता र भ्रष्टाचार नियन्त्रण नभइ सुशासन प्रवद्र्धन हुनै सक्दैन । सरकार भ्रष्टाचारविरुद्ध गम्भिर रुपमा लागेको छ । यो कुरा पछिल्ला केही कार्यभारहरुबाट प्रष्ट भइ पनि सकेको छ । भ्रष्टाचारीहरुलाई कारबाही गर्ने दिशामा सरकारले चालेको कदमप्रति आम जनता, बौद्धिक समुदाय र विभिन्न माध्यमबाट प्राप्त भइरहेको समर्थन र ऐक्यवद्धताका लागि सबैप्रति म हार्दिक आभार प्रकट गर्न चाहान्छु । त्यसबाट प्राप्त ऊर्जाले अझ थप शक्तिका साथ सुशासनमा अघि बढ्न प्रेरणा मिलेको छ । देशका अन्य क्षेत्रमा केही प्रगति भएपनि उत्पादन र रोजगारी वृद्धितर्फ हामीले प्रगति गर्न अझै सकेका छैनौँ । यसैको फलस्वरुप उपभोग्य वस्तुहरुको ठुलो मात्रामा आयात गर्नुपरेकोले व्यापार घाटा चुलिदै गएको छ । त्यसैगरी रोजगारीको खोजीमा प्रतिदिन ठुलो संख्यामा नेपाली युवाहरु विदेशिनु परेको अवस्था छ । यसो हुनुमा हाम्रो नीति, योजना र कार्यक्रम तथा तिनको कार्यान्वयन प्रभावकारी हुन नसक्नु प्रमुख कारण हो भन्न हामीले अप्ठ्यारो मान्नु हुँदैन । यस अवस्थालाई मनन गरि अब हामीले हाम्रा नीति, योजना र कार्यक्रममा पुनरावलोकन गर्ने स्थिति देखिएको छ । प्रभावकारी हुन नसकेको कतिपय कार्यक्रमहरुलाई खारेज गरेर नयाँ कार्यक्रम कार्यान्वयन गर्न आवश्यक छ र सरकार त्यसै दिशातिर अगाडी बढ्दैछ ।’
उनले किसानहरुले बेलैमा मल पाउनेगरी मलको आपूर्ति सुनिश्चित भएको बताए । त्यस्तै भ्रष्टाचारविरुद्ध सरकार गम्भिर रुपले लागेको उनको भनाई छ ।