काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले आफ्नो पार्टीका नेता अपराधमा मुछिँदा राजनीतिक दलहरुले उसको बचाउ गर्ने गरेका बताएका छन् ।
सोमवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पराजुलीले पार्टीका नेताहरु अपराधमा मुछिँदा उसलाई बचाउन निकृष्ट नाटक मञ्चन हुने गरेको बताएका हुन् ।
उनले सुशासनको वाचा गरेर आएका राजनीतिक दलहरुनै भ्रष्टाचारीलाई बचाउन लागि परेका बताए । उनले जनतालाई भ्रम छर्न र मुद्दालाई विषयान्तर गरी जनतालाई झुक्याउने खेल नगर्न चेतावनी समेत दिलाए ।
उनले भने, ‘कानूनी राज्यमा व्यक्तिले अपराध गरेमा कानूनको निर्मम प्रयोग गरेर अपराध र अपराधीलाई न्यायको कठघरामा उभ्याएर दण्डित गराउनु कानूनी राज्यको न्युनतम दायित्व हो । तर यहाँ नेतृत्वमा रहेकाले नै राजनीतिक तथा राज्यसत्ताको चरम दुरुपयोग गरेर यसको ठिक उल्टो आचरण देखाइरहेको अवस्था छ । राज्य संयन्त्र सञ्चालनमा उच्च तहका राजनीतिक तथा प्रशासनिक व्यक्तिहरु नै आफैँ जघन्य अपराध तथा बेथिति र भ्रष्टाचारमा लिप्त भएको बलियो शंकाको घेरामा देखिएको अवस्था उजागर हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नै आज सम्पूर्ण नेपाली जनताले ज्यादै लज्जाको बोध गरिरहनुपरेको अवस्था छ । अपराधी र भ्रष्टाचारीको न कुनै जात हुन्छ । न कुनै धर्म । भ्रष्टाचारी केवल अपराधी मात्र हुनुपर्ने हो र सम्पूर्ण राष्ट्रको शत्रु हुनुपर्ने हो । तर यस सम्मानित सदनमा आफ्नो पार्टीको नेता कुनैपनि अपराधमा मुछिँदा उसको बचाउमा निकै निकृष्ट नाटक मञ्चन भएको देख्ने गरिन्छ । त्यस्ता नाटक मञ्चन जिम्मेवार भनिएका दल जसले आम नेपाली जनतालाई सुशासनका झुटा वाचा गरेर आउनुभएको छ । खबरदार अब यस्तो नाटक मञ्चन गरेर जनतालाई भ्रम छर्ने र मुद्दालाई विषयान्तर गरी जनतालाई झुक्याउने खेल अब नगरियोस् ।’
सांसद पराजुलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा शंकास्पद उच्च ओहोदाका व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान गर्न अलमल गरिएकोको आशंका व्यक्त गरे ।
उनले सो प्रकरणको अनुसन्धानलाई गन्तव्यमा पुर्याउन सरकारलाई आग्रह गरे ।