काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्ने सांसद संख्या बढी भएपछि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ५६ को उपनियम ५ एकदिनका लागि निलम्बन गरिएको छ ।
सो उपनियममा एक दिनको बैठकमा बढीमा १५ जनाले मात्र प्रश्न सोध्न पाउने व्यवस्था रहेकोले विशेष परिस्थिका कारण आजको एउटा बैठकका लागि मात्रै प्रतिनिधि सभाले सो नियम निलम्बन गरिएको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ५६ को उपनियम ५ निलम्बनको प्रस्ताव गरेका थिए ।
एमालेका सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियारले सो नियम निलम्बनको समर्थन गरेका थिए ।
सो नियम निलम्बनको प्रस्ताव सभाले सर्वसम्मतले पारित गरेपछि प्रधामन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु भएको छ ।