काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा घोषणा गरेको राष्ट्रिय खेल भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा उद्घाटन गर्न पाउँदा खुशी लागेको बताएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना भएको काभा महिला च्यालेन्ज कपको उद्घाटनपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा घोषणा भएको भलिबलको उद्घाटन गर्न पाउँदा खुशी लागेको बताएका हुन् ।
भलिबल इतिहासमा पहिलो पटक अहिले सम्मकै सबैभन्दा ठूला प्रतियोगिता आयोजना हुँदैछ । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरेको भन्दै प्रधानमन्त्री दाहालले भलिबल संघ र राष्ट्रिय खेलकुद परिषद्लाई बधाई र सफलताको शुभकामना दिए ।
प्रधानमन्त्री दाहालले विसं २०७४ जेठ ८ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । नेपालको भौगोलिक विकटता, अन्य खेलको तुलनामा थोरै लगानी र मुलुकभर व्यापक पहुँचका आधारमा भलिबललाई त्यतिबेला राष्ट्रिय खेल बनाउने पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले गरेको थियो ।
यस्तै उद्घाटन कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपालमा खेल पूर्वाधार कमजोर भएको अवस्थामा प्रधानमन्त्री जानकार भएको र विकासका लागि चिन्तित भएको भन्दै पूरा गर्न मन्त्रालय र राखेप अग्रसर रहने प्रतिवद्धता जनाए ।
लिम्बूले खेल जीवन सकेर बाहिर निस्किँदा निराश भन्दा आशावादी हुन आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परषद्का सदस्य सचिव टंकलाल घिसिङले पनि प्रतियोगिताको सफलताको शुभकामना दिए । १४ गतेसम्म आयोजना हुने च्यालेन्ज कपमा नेपाल सहित ८ टोलीले सहभागिता जनाउँदै छन् ।
प्रतियोगिताको पहिलो दिन सोमवार नेपालले किर्गिस्तानमाथि ३–० को सेटमा सहज जित निकाल्दै सुखद् शुरुवात गरेको छ भने उज्वेकिस्तान र भारतले पनि सुखद् शुरुवात गरेका छन् ।