काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनमा भएको बोवाओ फोरममा नजाने निर्णय नेपालले नगरेको स्पष्ट पारेका छन् ।
मंगलवार राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
। उनले चीनमा भएको बोवाओ फोरममा चिनियाँ राजदुतले नै देशको अफ्ठ्यारो परिस्थितिलाई देखेर अर्को समयमा चीन भ्रमण राख्ने भनेपछि आफूले धन्यवाद दिएको बताए ।
उनले समय, परिस्थिति अनुसार छिमेकी देशहरुको भ्रमण गर्ने बताए । प्रधानमन्त्री दाहालले भुगोल, अर्थतन्त्र, खुला सीमाना, जनसम्बन्धका दृष्टिले भारतको महत्व र विशिष्टता बढी रहेको स्पष्ट भएको बताए ।
उनले भने, ‘उत्तर—दक्षिण भ्रमणको कुरा ल्याउनुभयो, यसमा हाम्रो कुनै संवैधानिक बाध्यता छैन । प्रधानमन्त्रीले पहिला कताको भ्रमण गर्ने भन्नेकुरा त्यस्तो केही बाध्यता छैन । समय, परिस्थिति अनुसार गरिने कुरा हो । त्यसको सबैभन्दा ठूलो प्रमाण म आफैँ हो । म पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो भ्रमण उत्तरबाट गरेको थिएँ । तर हाम्रो भुगोल, हाम्रो अर्थतन्त्र, हाम्रो खुला सीमाना, हाम्रा सबै खालका जनसम्बन्धका दृष्टिले भारतको महत्व र विशिष्टता थाहा छ, अहिले उत्तरले बोवाओ फोरममा निम्ता गरेको पक्कै पनि हो । तर त्यहाँ हामी नजाने भनेर निर्णय नेपाल सरकारले गरेको होइन । बरु चिनियाँ राजदुतले नै यहाँको दबाबलाई देखेपछि सरकारको अफ्ठ्यारोलाई देखेर नै धन्यवाद दिएको हो चिनियाँ राजदुतलाई ।’
प्रधानमन्त्री दाहालले भारत भ्रमणमा मलखादका बारेमा छलफल गर्नेपनि बताए ।