काठमाडौँ । जेठ १७ गतेदेखि हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको कार्य तालिका सार्वजनिक भएको छ ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति शनिबार जारी गर्दै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक गरेको हो ।
जारी कार्यतालिका अनुसार प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलसँग हैदरावाद हाउसमा भेटवार्ता गर्नेछ । दुई प्रधानमन्त्रीले वार्तापछि संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।
त्यसलगत्तै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रोपदी मुर्मु, उपराष्ट्रपति जनदीप धनखरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
साथै, प्रधानमन्त्री दाहालले नेपाल र भारतका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।