काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको औपचारिक कार्यक्रमको घोषणा भएको छ ।
नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले एकसाथ प्रधानमन्त्री प्रचण्डको आगामी १७ देखि २० जेठसम्म हुने भ्रमणको मितिसहित औपचारिक कार्यक्रम घोषणा गरेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आमन्त्रणमा हुन लागेको प्रधानमन्त्री प्रचण्डको चार दिने भ्रमणका दौरान भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्ट्राचार भेट गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण टोली स्वकीय सचिव गंगा दाहाल, नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणको दोस्रो दिन १८ जेठमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्नेछन् । सोही दिन मोदीले प्रधानमन्त्री प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीले भ्रमणको तेस्रो दिन १९ जेठमा भारतको मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
नेपालको प्रधानमन्त्रीका रुपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो । यस भ्रमणले नेपाल र भारतबीचको सदियौं पुरानो, बहुआयामिक र सौहार्दपूर्ण सम्बन्धलाई थप बलियो बनाउने विश्वास लिएको छ ।