काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार त्यहाँको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन् । बुधबार उनलाई स्वागत गर्न विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखी पुगेकी थिइन् ।
विमानस्थलमा स्वागतपछि प्रधानमन्त्री दाहालले मौर्य होटलमा भारत सरकारका विदेशसचिव विनयमोहन क्वात्रा र सुरक्षा सल्लाहकार अजित डोभालले भेटघाट गरेका थिए ।
गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेपछि दाहालको हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ ।
भेटवार्तालगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने बताइएको छ । त्यसक्रममा दुई देशका विविध आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची रहेको छ ।
ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य, हवाईमार्गलगायत विषयमा महत्त्वपूर्ण छलफल हुने र आवश्यक सहमति गर्ने तयारी छ । यस्तै, केही आयोजनाको उद्घाटन र शिलान्यासको कार्यक्रम छ । त्यसका लागि आवश्यक तयारी भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
द्विपक्षीय छलफल र भेटवार्तालगत्तै हैदरावाद हाउसमै दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने जनाइएको छ। प्रधानमन्त्री दाहालको सम्मानमा आजै भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजनासमेत गरेका छन् ।
प्रधानमन्त्रीस्तरीय छलफल र पत्रकार सम्मेलनपछि आजै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रचण्डको भ्रमण टोलीमा परराष्ट्रमन्त्री एमपी साउदसहित पाँच मन्त्रीहरू सामेल छन् । प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज हैदराबाद हाउसमा दुई पक्षीय वार्ता हुने कार्यसूची रहेको छ ।