काठमाडौं । नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु पुर्पक्षका लागि थुनामा जाने वा तारेखमा छाड्ने थुनछेक आदेश भोलि शुक्रवार आउने भएको छ ।
शुक्रबार अपरान्हसम्म जिल्ला अदालत काठमाडौंले यस प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तका बारेमा थुनछेक आदेश दिने भएको हो ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी वकिल र १८ जना आरोपितहरुका तर्फबाट कानून व्यवसायीहरुले बहस गरेका छन् । आज दुवै पक्षको वहस सकिएको छ । न्यायाधीशले शुक्रबार विहान सरकारी वकिलहरुको जवाफी बहस सुनेपछि आदेश गर्ने बताएका छन् ।
२१ जेठदेखि नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ । बहस लम्बिएपछि आदेश शुक्रवार मात्रै आउने भएको हो ।
१८ जना आरोपितहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारेखमा छाड्नेबारे कुनै एक आदेश जिल्ला अदालतले दिनेछ। आरोपितहरुको भूमिका र संलग्नताका आधारमा इजलासले उनीहरुलाई फरक–फरक आदेश पनि दिन सक्छ ।
आरोपितहरुलाई थुनामा राख्ने कि छाड्ने भन्ने आदेश गरेपछि मात्रै अदालत मुद्दाको विषयवस्तुमा जाने छ ।
जिल्ला अदालतबाट हुने थुनछेक आदेश चित्त नबुझे सरकारी वकिल र आरोपित पक्षले उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन्। यस प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले १२ जना फरार रहेको उल्लेख गरेको छ ।