काठमाडौं । प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले पशुपतिको जलहरी निर्माणका क्रममा कति सुन हराएको हो र कति बाँकी छ भन्ने कुराको सत्यतथ्य जानकारी संसदमा गराउन माग गरे ।
उनले भने, ‘पशुपतिनाथ मन्दिर परिसरको गर्भगृहमा रहेको जलहरीको बारेमा यो सदनमा निकै चर्चा भयो । आजपनि देशका प्रमुख मिडियाहरुमा यो बारेमा प्रश्न उठेको छ । म के भन्न चाहन्छु भनेदेखि भएको के हो त्यहाँ ? आज पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, खानी तथा भूगर्भ विभाग र जनप्रतिनिधिहरुले त्यहाँको सुनको खोजि गरेर तौलिँदै हुनुहुन्छ भन्ने हामी सुनेका छौँ । कति सुन हराएको हो ? कति सुन बाँकी छ ? के स्थिति हो ? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन । यो सदनमा सत्यतथ्य जानकारी गराउनको निम्ति सम्बन्धित निकायलाई अनुरोध गर्न चाहन्छु ।’