काठमाडौँ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषधसहित एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ। मोल्दोभा र रोमानियाको राहदानी बोकेका ४१ वर्षीय डेनिस कुकेरियालाई प्रक्राउ गरिएको हो ।
अवैध चरेशजस्तो देखिने पदार्थ ८ केजी ७ सय ४० ग्राम, टर्किस एयरलाईन्सको ब्याग ट्यागसहितको बोर्डिङ पास २ थान, २ हजार ५ सय भारतीय रुपियाँ, २ हजार ३ सय ९० युरो, २ सय ६० पाउण्ड स्टर्लिङ र मोबाइल ३ थानसहित उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको ब्यागेज चेकिङ एरियाबाट सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
टर्किस एयरलाईन्सको उडानमार्फत काठमाडौँबाट इस्तानबुल हुँदै जुरिच स्वीटजरल्याण्ड जान लागेका उनको लगेज चेकजाँच गर्ने क्रममा लगेजभित्र फल्सबटम बनाई खैरो रंगको प्लास्टिकले र्यापिङ गरी लैजान लागेको उक्त परिमाणको लागुऔषध र नगदसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचर र लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।