logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्नु पर्छः सोनाम ग्याल्जेन शेर्पा

    सरकारले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्नु पर्छः सोनाम ग्याल्जेन शेर्पा

    931
    Shares
    सरकारले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्नु पर्छः सोनाम ग्याल्जेन शेर्पा

    काठमाडौं । राष्ट्रियसभाका सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

    सगरमाथा कुन रुटबाट चढेकालाई मान्यता दिने भन्ने विषयमा सरकारसँग स्पष्ट मापदण्ड हुनुपर्ने उनको भनाई थियो ।

    मंगलबार राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद शेर्पाले हेलिकप्टरबाट दोस्रो क्याम्पमा पुगेकाहरुलाई पनि सगरमाथा चढेको मान्यता दिने गरेको भन्दै आपत्ति समेत जनाए ।

    उनले पर्यटकहरुकै कारण हिमाली क्षेत्रको वातावरण प्रदुषित हुन पुगेको उल्लेख गर्दै त्यस्तो हुन नदिन पनि सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याए । सांसद शेर्पाले पर्यटनले विकासमात्रै नभई विध्वंश पनि निम्त्याउन सक्छ भन्ने मान्यतालाई आत्मासात गरेर पर्यटन नीति ल्याउन पनि सरकारलाई सुझाव दिए ।

    उनले भने, ‘आज पनि लाजमर्दो कुरा के भईराखेको छ भने सगरमाथा चढने पनि एउटा मापदण्ड हुन्छ । सगरमाथा कहाँबाट चढेर कहाँबाट झर्नेलाई मान्यता दिने भन्ने पनि हुन्छ । तर नेपालको कुनै पनि ऐन, कानुनमा सगरमाथा यहाँदेखि यहाँबाट चढेर फर्कियो भने मान्यता दिने भन्ने काही लेखिएको छैन । त्यसकारण कहिलेकाँही विवाद हुने गर्छ । हेलिकप्टरबाट गएर चढेको मान्छेलाई समेत मान्यता दिईन्छ । कोही मान्छे बेसक्याम्पबाट गएर चढेका हुन्छन । यसलाई सगरमाथा चढेकै मानिन्छ । आखिर कुनलाई चाँही सगरमाथा चढेको मान्ने ? त्यसकारण यो व्यवस्था हुनुपर्‍यो कि सगरमाथा कहाँबाट चढेर कहाँबाट झरेकोलाई मान्यता दिने भनेर ऐनमा व्यवस्था हुन जरुरी छ । आज सगरमाथालगायत विभिन्न हिमालको आधार शिविरमा जानुहोस् । त्यहाँ सिजनल टुरिष्ट बस्दाखेरी कति प्रदुषण भएको छ । त्यसतर्फ सरकार गम्भिर छ कि छैन त ? सरकारले त्यो बेसक्याम्प कसरी बस्ने भनेर मापदण्ड बनाएको छ कि छैन ? म त केही पनि देख्दिन । पर्यटन खाली विकास मात्रै गर्ने होइन, विध्वंश पनि ल्याउन सक्छ । त्यसलाई ध्यानमा राखेर सरकारले पर्यटन नीति बनाउनु पर्छ भन्ने धारणा राख्न चाहन्छु ।’

    सांसद शेर्पाले पर्यटन क्षेत्रको विकासका लागि सरकारले गुरुयोजना नै तय गर्नुपर्ने पनि पटक-पटक दोहोर्‍याए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend