काठमाडौं । नेकपा (एकिकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारको लक्ष्यअनुसार चालु आर्थिक वर्षमा राजश्व संकलन हुने ग्यारेन्टी के हो ? भन्दै प्रश्न गरे ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै उनले सरकारले दिएको लक्ष्यअनुसार राजश्व उठ्ने/नउठ्ने विषयमा सरकारले जनतालाई जवाफ दिन माग गरे ।
उनले बजेट विनियोजन गर्दा साधरण खर्च र वित्तीय व्यवस्थापन भन्दा पनि पुँजीगत खर्च ध्यान दिनुपर्ने भएपनि सरकारले उल्टो बजेट ल्याएको बताए । उनले सरकारले हेरेक वर्ष कृषि क्षेत्रमा प्राथमिकता दिएर बजेट विनियोजन गरेपनि परिणाम आउन नसेको बताए ।
उनले भने, ‘सरकारले सबैभन्दा बढी कृषि क्षेत्रमा बजेट विनियोजन गरिरहेको छ । कृषि क्षेत्रले नेपाललाई देखिने गरी फाइदा के गरिरहेको छ । खान र लगाउन मात्रै दिएको छ । की जीडिपीमा कति योगदान गरेको छ । कृषिमा बढी बजेट छुट्याउने र वार्षिक रुपमा ३ अर्ब बढीको खाद्यान्न आयात गर्ने अवस्था कसरी आयो । कृषि बाहेक सरकारले सेवा वा उत्पादनको क्षेत्रमा लगानी लगाउने विषयमा के मोडालिटी बनाउने सोचेको छ । सरकारको लक्ष्य अनुसार चालु आर्थिक वर्षमा राजश्व संकलन हुने ग्यारेन्टी के हो । सरकारले जुन लक्ष्य लिएको छ त्यो अनुसार राजश्व उठ्ने नउठ्ने विषयमा सरकारले जनतालाई कहिले आस्वस्त बनाउँछ । बजेट विनियोजन गर्दा साधरण खर्च र वित्तीय व्यवस्थापन भन्दा पनि पुँजीगत खर्च ध्यान दिनुपर्ने हो । यहाँ उल्टो भएको छ ।’