काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको लाइन्सेस परीक्षाको प्रश्नपत्र लिक गराएको आरोपमा तीन जना पक्राउ परेका छन् । एकजनालाई भने प्रहरीले बोलाएको बेला हाजिर हुने सर्तमा छाडिएको छ ।
परीक्षार्थी कास्कीकी २० वर्षीया समीक्षा थापा, धादिङकी २३ वर्षीया सविना आले र कास्कीकी २० वर्षीया भावना गुरुङ पक्राउ परेका हुन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले अल ब्राइट इन्स्टिच्यूट पोखराका गाडी चालक तनहुँका ५० वर्षीय चिजकुमार श्रेष्ठलाई भने प्रहरीले बोलाएको बेला उपस्थित हुने सर्तमा छाडेको जानकारी दिए ।
बनस्थलीस्थि सिद्धार्थ बनस्थली इन्स्टिच्यूटमा शनिबार ९ बजेदेखि साढे ११ बजेसम्म भएको नसिंङ काउन्सिलको नाम दर्ता जाँचमा उनीहरुले प्रश्नपत्रको तस्बिर खिचेर म्यासेन्जर ग्रुपमा पठाएका थिए।
त्यसपछि सोही ग्रुपमा आएको उत्तर उनीहरुले उत्तरपुस्तिकामा सारेर लेखेका थिए । प्रहरीले परीक्षार्थीका मोबाइल समेत जफत गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।