काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले अन्नपूर्ण संरक्षण आयोजना(एक्याप)ले स्थानीय तहका विकास निर्माण लगायतका काममा व्यवधान सिर्जना गरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले समस्या समाधान गर्न सरकारलाई अनुरोध गरे ।
उनले भने, ‘अन्नपूर्ण संरक्षण आयोजना एक्यापले स्थानीय तहका विकास निर्माण लगायतका काममा व्यवधान सिर्जना गरेको भन्ने व्यापक गुनासो छ । यस्तै गुनासो गण्डकी सरकारको पनि छ । वन तथा भू संरक्षण मन्त्रालयको २०७१ फागुन २५को राजपत्रमा प्रकाशित सूचना अनुसार एक्याप स्थानीय समुदायलाई हस्तान्तरण गर्ने भन्ने छ तर हालसम्म पनि हस्तान्तरण नभएकोमा प्रभावित क्षेत्रका समुदाय स्थानीय सरकार आन्दोलित छन् । आक्रोशित छन् । यो समस्याको समाधानमा सरकारको विशेष पहलकदमीका लागि अनुरोध छ । एक्याप जस्तै देशभर संरक्षण आयोजनाको नाममा स्थानीय समुदाय, स्थानीय सरकार प्रताडित छन् । पञ्चायतकालिन कानूनलाई टेकेर नागरिकलाई दुःख दिने काम नगरियोस् । पुरानो ऐन, कानूनलाई संविधानको भावना अनुसार सुधार गरियोस् ।’