logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कञ्चनपुरमा लागु औषधसम्बन्धी मुद्दा चार वर्षयताकै बढी

    कञ्चनपुरमा लागु औषधसम्बन्धी मुद्दा चार वर्षयताकै बढी

    973
    Shares
    कञ्चनपुरमा लागु औषधसम्बन्धी मुद्दा चार वर्षयताकै बढी

    कञ्चनपुर । कञ्चनपुरमा लागु औषधसम्बन्धी मुद्दा चारवर्ष यताकै बढी रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष २०७९/८० को वार्षिक गतिविधि सार्वजनिक गरेको हो ।

    प्रहरीले सार्वजनिक गरेको विवरणमा सबैभन्दा बढी लागु औषधसम्बन्धी १५४ मुद्दा दर्ता भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले लागुऔषध मुद्दामा १४ भारतीय नागरिकसहित दुई सय ८२ जना पक्राउ परेको जानकारी दिए ।

    त्यसैगरी गत आर्थिक वर्षमा लागुऔषधका एक सय ४३ मुद्दा दर्ता भएकामा दुई सय ३९ जना पक्राउ परेका थिए । प्रहरी उपरीक्षक थापाले भने– ‘यहाँ हरेक दिन लागुऔषध सेवनकर्ता पक्राउ पर्ने गर्छन् ।’ खुल्ला सिमानाका कारण भारतबाट विभिन्न लागुऔषध लुकिछिपी ल्याउने गरेको पाइएको छ ।

    चालु आर्थिक वर्षमा कञ्चनपुर प्रहरीले २६ किलोग्राम भन्दा बढी चरेश, ५४७.७९ ग्राम खैरोहिरोइन, ३६ ट्याबलेट नाइट्राभेटलगायत लागुऔषध बरामद गरेको छ । त्यसैगरी चालु आर्थिक वर्षमा प्रहरीले विभिन्न बेवारिसे सामान बरामद गरी दुई करोड २१ लाख ३४ हजार बराबरको सामग्री भन्सार चलान गरेको छ । गत वर्ष यहाँ रु एक करोड १७ लाख ५४ हजारको बेवारिसे सामग्री भन्सार पठाइएको प्रहरीले जनाएको छ ।

    त्यस्तै, चालु आर्थिक वर्षमा यहाँ ७२ फरार अभियुक्त पक्राउ परेका छन् । वर्षभरिमा कूल नौ सय ७५ मुद्दा दर्ता भएकामा छ सय ६७ मुद्दा फछर्यौट गरिएको प्रहरीले जनाएको छ ।

    त्यसैगरी प्रहरीले भीमदत्त नगरपालिकाका विभिन्न स्थानमा नियमविपरीत औषधि पसल सञ्चालन गर्दै आएका चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । यसअघि कञ्चनपुर प्रहरीले यहाँका विभिन्न क्षेत्रबाट ११ भारतीय नागरिकलाई अवैधरुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गरेको आरोपमा पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend