logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • भूकम्प प्रभावित क्षेत्रमा पुरिएका पशु चौपाया निकाल्न अझै बाँकी रहेछ : सभापति रामहरि खतिवडा

    भूकम्प प्रभावित क्षेत्रमा पुरिएका पशु चौपाया निकाल्न अझै बाँकी रहेछ : सभापति रामहरि खतिवडा

    1.6K
    Shares
    भूकम्प प्रभावित क्षेत्रमा पुरिएका पशु चौपाया निकाल्न अझै बाँकी रहेछ : सभापति रामहरि खतिवडा

    काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पर्याप्त मात्रामा आए पनि पुरिएका पशु चौपाया निकाल्ने काम अझै बाँकी रहेको बताएका छन् ।

    बुधवार बिहान समितिका ९ सदस्यीय टोली जाजरकोट र रुकुममा भूकम्पले पुरयाएको क्षति, सरकारले राहत र उद्धारका लागि गरेको कामको अनुगमनका लागि त्यसतर्फ प्रस्थान गरेका थिए । सभापति खतिवडाले अनुगमनका क्रममा प्रभावित क्षेत्रमा राहत सामग्री प्रशस्त पुगेको र सरकारले एकद्धार नीतिबाट वितरण गरिरहेको बताए ।

    जाजरकोटमा १७ हजार २ सय ब्यांकेट र २२ हजार १ सय ३१ पाल बाँडेको बाँडिएको र पालहरु सबैलाई पुगेको देखिएको बताए । घरबास गुमाएका नागरिकले यो पुगेन, त्यो पुगेन भनेर सरकारको आलोचना हुनु स्वाभाविकै भए पनि राहत सामग्रीको अभाव नदेखिएको बताए ।

    गत कार्तिक १७ गते राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाई भूकम्प जाँदा १५३ जनाले ज्यान गुमाएका थिए भने ३ सय जनाभन्दा बढी घाइते भएका थिए ।

    जाजरकोटमा अवलोकन गरेर रुकुमका विभिन्न क्षेत्रको अनुगमनका हिँडेका सभापति खतिवडाको भनाई जस्ताको तस्तै :

    बुधवार जाजरकोटको अवस्था अवलोकन गरेर बिहीबार हामी रुकुम आइपुगेका छौँ । रुकुमको सानोभेरी वडा नम्बर ४ मा अवलोकन गरेर रुकुम सदरमुकाममा अवलोकन गरेका छौँ । भूकम्प पीडितलाई टेन्ट, पाल सरकारको तर्फबाट पठाइरहेको पाएका छौँ । भूकम्पले ठुलो क्षति भएको छ । जाजरकोट र रुकुममा भेरी नदी किनार तर्फका गाउँहरुमा नराम्रोसँग ठुलो क्षति भएको छ ।

    धनको भन्दा जनको ठुलो क्षति भएको देखिन्छ । अरू नपुगेको बादी समुदाय रहेको ठाउँ, विकट ठाउँमा पनि हामी पुग्यौँ । सरकारले राम्रै गरिरहेको छ । सुत्केरी बालबालिकाले भनेजस्तो राहत पाएनौँ, जसरी व्यवस्थित हुनुपर्ने थियो, त्यसरी व्यवस्थापन नभएको गुनासो गरेका छन् । भूकम्प पीडितका लागि भनेर सामानहरु व्यापक रुपमा आएको देखियो । कोही विराटनगरदेखि आएका छन्, कोही काठमाडौँबाट, कोही बुटवलदेखि आएका छन् । सरकारले एकद्धार नीति अनुसार सामग्री दिइरहेको छ ।

    भूकम्प गएको ७ दिन बितिसक्दा पनि कतिपय ठाउँमा पुरिएका गाई बाख्रा पशुचौपाय निकाल्न सकिएको छैन, त्यसका लागि सुरक्षाकर्मी खटिएका छन् । शव व्यवस्थापनको काम २४ घण्टाभित्र द्रुत गतिमा भएको पायौँ । मृतक १५३ जनामध्ये एकजना बच्चाको शव परिवारले बुझ्न बाँकी रहेछ । आमा नआएका कारण बुझाउन सकिएको रहेनछ । २ सय ५६ जना घाइतेमध्ये ९९ जना डिस्चार्ज भएका छन् ।

    उद्धारका लागि सरकारले नेपाली सेनाको २ वटा हेलिकप्टर स्ट्याण्डबाई राखेको छ । जाजरकोटमा १७ हजार २ सय ब्यांकेट बाँडिएको देखिन्छ भने २२ हजार १ सय ३१ बाँडेको देखिन्छ । सबैतिर पर्याप्त मात्रामा पालहरू पुगेको देखियो ।

    एकद्धार प्रणालीमार्फत एउटाले वितरण गर्ने र अर्को पक्षले अनुगमन गर्ने यो पनि राम्रोसँग भएको पाइयो । यो पुगेन, त्यो पुगेन भनेर यो बेला सरकारको आलोचना हुनु स्वाभाविकै हो । सरकारी संचनाहरुतर्फ स्कुलहरू ध्वस्त भएका छन्, स्वास्थ्य चौकी, सिडिओ कार्यालय ध्वस्त छ । अदालत, मालपोत कार्यालय ध्वस्त भएको छ ।

    गोठहरू भत्किएर गाई भैँसी, भेडा बाख्रा पुरिएको छिटो निकाल्नुपर्ने आवश्यकता छ । यो बेला तीनै तहका सरकार मिलेर काम गर्न आवश्यकता छ । यो बेला गरेको कामलाई कसैले राजनीतिक रङ नदिई जाती र पातीभन्दा माथि उठेर सहयोग गर्न सबैलाई हामीले अपिल गरेका छौँ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend