काठमाडौँ । सरकारले बर्दिबास मेडिकल कलेज निर्माण गर्ने भएको छ । मन्त्रिपरिषदको हालैको बैठकले कलेजलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।
मन्त्रिपरिषदले मोहत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ४ स्थित माइस्थान, भब्सी क्षेत्रको ८० विगाह १२ कठ्ठा राष्ट्रिय वन क्षेत्रको जग्गा उपलब्ध गराएको छ । बर्दिबास नगरपालिकाले जग्गाको मुआब्जाको प्रक्रिया अघि बढाएको छ । जग्गा दिन इच्छुक जग्गाधनीलाई एक साताभित्र निवेदन दिन नगरपालिकाले भनेको छ ।
त्यसपछि जग्गाधनीहरुले मुआब्जा पाउने छन् । कलेजको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) २०७८ असोजमा तयार भइसकेको छ । डिपिआरअनुसार बर्दिबासमा १ हजार बेडको मेडिकल कलेज निर्माण गर्न २८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । २०८० जेठ २९ गते सर्वाेच्च अदालतले मेडिकल कलेज निर्माण रोक्न नहुने फैसला गरेपछि निर्माणको काम सुरु हुने भएको हो ।
मेडिकल कलेज निर्माणका लागि ५४ हेक्टर जग्गा आवश्यक पर्ने डिपिआर अध्ययनले देखाएको थियो। ५४ हेक्टर जमिनमा १ हजार ९ सय ८७ वटा रुख काट्नुपर्ने देखिएको छ । सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्नेअवधारणाअनुसार आर्थिक वर्ष २०७३ ७४ को नीति तथा कार्यक्रममा उल्लेख गरेको थियो । मधेस प्रदेशमा बर्दिवास मेडिकल कलेज निर्माण गर्ने योजना अघि सारेको थियो। त्यसबेला पाँच वर्षमा पूर्वाधार निर्माण सकेर कलेज सञ्चालन गर्ने लक्ष्य राखिए पनि हालसम्म निर्माण सुरु हुन सकेको छैन ।
सरकारले बुटबल र सुर्खेतमा पनि मेडिकल कलेज निर्माणको तयारी गरिरहेको छ । सरकारले प्रत्येक वर्ष मेडिकल कलेजका लागि बजेट विनियोजन गर्दै आएको छ । पूर्वाधार निर्माणको काम अघि नबढेपछि बजेट फ्रिज हुँदै आएको छ । २०७८ असोजमा डिपिआर तयार गरेको आयोजनाको वातावरणीय प्रभाव मूल्याँकन (इआइए) वन मन्त्रालयले स्वीकृत गरिसकेको छ । इआइए स्वीकृत भए पनि जग्गा प्राप्ति काम बाँकी थियो। त्यो काम पनि मन्त्रिपरिषदले बाटो खुलाएको छ । कलेजको प्रारम्भीक काम अघि बढाउन बाटो खुलेको छ ।