logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मुलुककै ठूलो माथिल्लो तामाकोसीको घाटा १ अर्ब ३९ करोड

    मुलुककै ठूलो माथिल्लो तामाकोसीको घाटा १ अर्ब ३९ करोड

    959
    Shares
    मुलुककै ठूलो माथिल्लो तामाकोसीको घाटा १ अर्ब ३९ करोड

    काठमाडौं । मुलुककै सबैभन्दा ठूलो जलविद्युत आयोजना सञ्चालन गरिरहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेड नोक्सानमा गएको छ ।

    चालू आर्थिक वर्षको तेस्रो त्रैमाशमा अपर तामाकोसी १ अर्ब ३९ करोड १३ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्षको यसै अवधिमा कम्पनी २ अर्ब रुपैयाँ खुद नोक्सानमा थियो । ९ महिनामा कम्पनीले बिजुली बेचरे ६ अर्ब ५३ करोड रुपैयाँ आम्दानी गरेको छ ।

    आयोजना बनाउँदा लिएको ऋणको साँवा र ब्याज भुक्तानी गरेको, ब्याज खर्च बढेको तर सोहीअनुसार बिजुली बेचेर हुने आम्दानी नबढेका कारण कम्पनी नोक्सानमा गएको अपर तामाकोसीले जनाएको छ ।

    ९ महिनाको अवधिमा अपर तामाकोसीले ४ अर्ब ६९ करोड ७५ लाख रुपैयाँ ऋण तिरेको छ । यस्तै हकप्रद सेयर निष्कासनबाट प्राप्त रकम नेपाल विद्युत प्राधिकरण, नबिल बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टेमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) लाई अल्पकालिन ऋण चुक्ता गरेको कम्पनीले जनाएको छ ।

    अहिलेको अवस्थामा कम्पनीले सेयरधनीलाई लाभांश दिने संभावना कम देखिएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । ह्रासकट्टी र ब्याज खर्च अधिक बढेको र विद्युत बिक्रीबाट हुने आम्दानीमा बढोत्तरी नहुँदा र ब्याजदर पनि बढेकाले यसको असर नाफामा परेको कम्पनीको दाबी छ ।

    घाटामा गएपछि कम्पनीको प्रति सेयर आम्दानी ६.५७ रुपैयाँ ऋणात्मक छ । यस्तै प्रति सेयर नेटवर्थ पनि घटेर ६३.२५ रुपैयाँमा झरेको छ ।

    दोस्रो चरणको रोल्वालिङ डाइभर्सन स्किम सहितको रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माण गरी विद्युत आय बढ्ने जानकारी कम्पनीले दिएको छ । यसका लागि कम्पनीले सत्प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ ।

    हकप्रद निष्कासनपछि अपर तामाकोसीको चुक्ता पुँजी बढेर २१ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । दोस्रो चरणको डाइभर्सन आयोजनाबाट वार्षिक साढे ३१ करोड युनिट बिजुली उत्पादन हुनेछ । बिजुली बेचेर वार्षिक २ अर्ब रुपैयाँ थप आम्दानी गर्ने अनुमान छ । यो आयोजना सञ्चालनमा आएपछि माथिल्लो तामाकोसीको वित्तीय स्वास्थ्यमा सुधारआई लगानीकर्तालाई लाभांश बाँड्ने अवस्थामा पुग्ने अपर तामाकोसीले जनाएको छ ।

    सरकार, नागरिक लगानी कोष, नेपाल टेलिकम र राष्ट्रिय बिमा संस्थानबाट प्राप्त दीर्घकालीन ऋण निर्माण अवधिको ब्याजसहित ४६ अर्ब ५२ करोड रुपैयाँ छ । कम्पनीको दीर्घकालीन ऋण ७३ अर्ब १५ करोड रुपैयाँ छ ।

    अपर तामाकोसीले २०७८ भदौ २५ गतेदेखि व्यावसायिकरूपमा विद्युत उत्पादन थालेको हो। सरकारको दीर्घकालीन ऋण भुक्तानी १५ वर्षमा ३० किस्ता र संस्थागत ऋण लगानीकर्ताको १५ वर्षमा ६० किस्ता ऋण भुक्तानी गर्नुपर्ने दायित्व कम्पनीको छ।

    हकप्रद रकम दोस्रो चरणअन्तर्गत रोल्वालिङ डाइभर्सन स्किममा लगानी हुनेछ। डाइभर्सन आयोजना निर्माणका लागि हाइ हिमालय हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन कम्पनी साइटमा परिचालन भइसकेको छ।

    तीन वर्ष अझै नोक्सानमा

    अपर तामाकोसी हाइड्रोपावर लिमिटेड आगामी तीन वर्ष पनि नोक्सानीमा जाने देखिएको छ ।

    आर्थिक वर्ष २०८२/०८३ सम्म नोक्सानीमा जाने अपर तामाकोसीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । चालू आर्थिक वर्ष २०८०/०८१ मा कम्पनीको नोक्सानी १ अर्ब ६३ करोड १३ लाख, आगामी आर्थिक वर्ष २०८१/०८२ मा ५३ करोड ९२ लाख र २०८२/०८३ मा नोक्सानी १५ करोड ५५ लाख रुपैयाँमा झर्ने सार्वजनिक प्रक्षेपित वित्तीय विवरणमा छ ।

    आयोजना बनाउन निर्माण अवधिको ब्याजसहित ८९ अर्ब ७० करोड रुपैयाँ खर्च भएको छ । यस आधारमा ४ सय ५६ मेगावाट आयोजना बनाउँदा प्रतिमेगावाट लागत १९ करोड ५२ लाख ७७ हजार रुपैयाँ पुगेको अपर तामाकोसीले जनाएको छ।

    आयोजना सुरु हुँदा प्रतिमेगावाट लागत ८ करोड रुपैयाँ हुने अनुमान गरिएको थियो । पछि बढेर १९ करोड ५२ लाख ७७ हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । सबैभन्दा सस्तो मानिएको आयोजना पनि महँगो बनेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend