logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • देवचुली पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा 

    देवचुली पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा 

    1K
    Shares
    देवचुली पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा 

    नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को देवचुली नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ ।

    नगरभित्रका खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि आइतबार देवचुलीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो ।

    नगरपालिका खोप समन्वय समितिले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख हरिप्रसाद न्यौपानेले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरेका हुन् ।

    नगरपालिकामा आर्थिक वर्ष २०८०/८१ मा वडा नं १ देखि १७ सम्मका १५ महिना  मुनिका आठ सय ७६ बालबालिकालाई पूर्ण खोप लगाइएको छ । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा वडा नं १ देखि १७ सम्मका १६ महिनादेखि ५९ महिना मुनिका दुई हजार चार सय सात बालबालिकालाई खोप लगाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले बताए ।

    नगरपालिकामा रहेका एउटा नगर अस्पताल, तीन स्वास्थ्य चौकी, १२ आधारभूत स्वास्थ्य सेवा केन्द्र, २१ खोप केन्द्रबाट २० जना खोप कार्यकर्ताले पालिकाका सबै बालबालिकालाई खोप लगाउने कार्यक्रम पूरा गरिएको जनाएका छन् ।

    नगरपालिका खोप समन्वय समितिका संयोजकसमेत रहेका नगरप्रमुख हरिप्रसाद न्यौपानेले खोप लगाउने उमेर समूहका कुनै पनि बालबालिका खोपबाट कहिल्यै बञ्चित हुन नहुने बताए । उनले खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउन नगरपालिका प्रतिबद्ध रहेको जनाउँदै यसमा स्वाथ्यकर्मीको सबैभन्दा महत्वपूर्ण भूमिका रहने बताए ।

    यस पालिका विसं २०७० चैत १२ मा पहिलोपटक पूर्ण खोप नगर घोषणा भएको थियो । पालिकालाई हालसम्म पूर्ण खोप नगरपालिकाको सुनिश्चतता एवं दिगोपनालाई निरन्तरता दिइरहेको छ ।

    आगामी वर्षमा पनि यस कार्यलाई निरन्तर राख्न स्थानीय सरोकारवालाले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend