काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप खेल्न पाउने या नपाउने भन्ने विषयमा अन्योल कायमै छ । विश्वकपका लागि १५ सदस्यीय टोलीको नामावली बुझाउने अन्तिम समय नजिकिँदै गर्दा पनि लामिछानेको भिसाको विषयमा टुङ्गो लाग्न सकेको छैन ।
नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई विश्वकप खेल्ने राष्ट्रिय टोलीमा समावेश गराउने पहल सुरु गरेको थियो । तर, अमेरिका जानका लागि लामिछानेको भिसा स्वीकृत हुन सकेन ।
सरकारले पनि लामिछानेको भिसाको विषयमा पहल गरिरहेको छ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्कासँगको कुराकानीपछि बिहीबार खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपलाई भिसा उपलब्ध गराउन आवश्यक सहजीकरणका लागि अनुरोध गर्दै पत्र पठाइसकेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बिच हाललाई बुझाउनुपर्ने १५ जना खेलाडीहरूको अन्तिम सूचीमा १४ जना खेलाडीहरूको सूची मात्र बुझाउने र सन्दीप लामिछानेको विषयमा टुङ्गो लागेपछि १५ औँ खेलाडीको टुङ्गो लगाउने सहमति भएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् ।
अमेरिकाको भिसा नआए वेस्ट इन्डिजमा मात्र भए पनि लामिछानेलाई खेलाउने चन्दले बताए ।