काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुर क्रिकेट मैदान आसपासमै खेलाडीहरुका लागि होस्टलको व्यवस्था गरिने बताएका छन् ।
बिहीवार कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण एवं अवलोकनका लागि कीर्तिपुर पुगेका उनले यस्तो बताएका हुन् । उनले अन्य देशहरुमा मुख्य मैदान आसपासमै खेलाडीहरुका लागि होस्टलको व्यवस्था गरिएको हुने भन्दै नेपालले पनि सोही अनुभवबाट सिक्दै खेल मैदान आसपासको क्षेत्रमा नै खेलाडी आवास निर्माण गर्न होटल व्यवसायी संघ (हान)सँग आग्रह गर्ने बताए ।
यसले खेलाडीहरुलाई मैदानमा अभ्यास गर्न जान पनि सहज हुने उनको विश्वास छ । उनले फ्लड लाइट जडानको कुरा केही प्राविधिक र प्रशासनिक त्रुटीका कारण रोकिरहेको भन्दै आगामी आर्थिक वर्षका लागि २० करोड रुपैयाँ छुट्याइएको बताए । उनले संरचनालाई सुदृढीकरण गर्ने र अन्तर्राष्ट्रिय स्तरमा अन्य राष्ट्रलाई संरचना बनाउँदै प्रतिष्पर्धामा आउँदैछौँ भन्ने किसिमको सन्देश दिन लागेको बताए । उनले कीर्तिपुर क्रिकेट मैदानमा खानेपानी, शौचालयको समस्या समाधानका लागि पहल शुरु गर्ने पनि बताए ।
उनले भने, ‘खेलाडीहरुलाई होस्टेल बाहिर बाहिर खेल मैदान नजिकै हुने गरेको देखियो । नेपालमा पनि त्यसैअनुसार होस्टेल बनाउन हामीले हानलाई आग्रह गर्नेछौँ । फ्लड लाइटको कुरा जुन छ, प्राविधिक खालको प्रशासनिक त्रुटीले गर्दा गत वर्ष पनि हुन सकेको थिएन । यस वर्ष पनि हामीले २० करोड राखेका छौँ । व्यवहारिक हिसावले यहाँको संरचनालाई सुदृढीकरण गर्ने र अन्तर्राष्ट्रिय स्तरमा अन्य राष्ट्रलाई तिमीहरुको जस्तै संरचना बनाउँदैछौँ भनेर सन्देश दिनु नै हो । विगतको ५ वर्षको भन्दा सबैभन्दा ठूलो बजेट यस वर्ष छ । चाहना असिमित छन्, श्रोत र पुँजी कम छ । जहिले पनि राज्यसँग आश गरेर हुँदैन, खेलकुद आफैँ व्यवसायिक हुनुपर्छ ।’