काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ ।
युनाइटेड मोदीले साझेदारीमा ५० मेगावाट क्षमताको मेवाखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको हो । कम्पनीले मेवाखोला आयोजनामा लगानी गर्न १ सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।
युनाइटेड मोदीले १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ । युनाइटेड मोदीले जेठ २७ गते आइतबार साधारणसभा बोलाएको छ ।
सभाबाट पारित भएपछि कम्पनीले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने भएको छ । विद्युत नियमन आयोगले सहमति दिएपछि कम्पनीले हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारणसभामा लगेको हो । हकप्रद सेयर निष्कासनपछि युनाइटेड मोदीको चुक्ता पुँजी २ अर्ब ४६ करोड रुपैयाँ हुनेछ ।
युनाइटेड मोदीले मेवा खोलामा ६७ करोड ५० लाख रुपैयाँ सेयर लगानी गर्नेछ । यो कम्पनीको चुक्तापुँजीको ३० प्रतिशत हो ।
कम्पनीको सञ्चालक समितिको बैठकले युनाइटेड मेवा खोला हाइड्रोपावर कम्पनीमा ३० प्रतिशत सेयरमा लगानी गर्ने निर्णय गरिसकेको छ । कम्पनीले युनाइटेड मेवा खोलामा ६७ लाख ५० हजार कित्ता सेयरमा किन्ने छ ।
आयोजना ताप्लेजुङमा पर्छ । मेवा खोला तमोर नदीको सहायक हो । सरकारले आयोजना प्रतिस्पर्धाबाट बढी अग्रिम रकम लिएर निजी क्षेत्रलाई बनाउन दिएको हो । मेवाखोला सुपरसिक्स आयोजना अन्तर्गतको हो ।
आयोजना बनाउन ९ अर्ब रुपैयाँ लाग्ने भएको छ । आयोजना बनाउन प्रतिमेगावाट १८ करोड रुपैयाँ लाग्ने संभाव्यता अध्ययनले देखाएको छ ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको थुकीमा निर्माण हुने आयोजनामा सिटिजन्स बैंकसहित कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल इन्फ्रास्ट्रचर बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक र हिमालयन बैंकले ७ अर्ब रुपैयाँ ऋण लगानीका लागि वित्तीय सम्झौता गरेका छन् ।
आयोजनाको अनुमानित लागत नौ अर्ब रुपैयाँ रहेको छ । आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी भएको छ ।
आयोजनामा सिटिजन्स बैंकले १ अर्ब ४५ करोड, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट, सिद्धार्थ र नेपाल इन्फ्रास्ट्रचरले १ १ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता गरेका छन् । त्यस्तै नेपाल एसबिआई बैंकले ८० करोड र हिमालयन बैंककोे ५० करोड रुपैयाँ लगानी छ ।
२०७८ साउन ८ गते कम्पनी र बैंकबीच ऋण लगानी सम्झौता भएको हो । युनाइटेडले १० मेगावाटको तल्लो मोदी १ जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गरिरहेको छ । यस्तै १०.५ मेगावाटको तल्लो मोदी २ आयोजना पनि रहेको छ ।
आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको कोशी कोरिडोर प्रसारणलाइन अन्तर्गको ढुङ्गेसाँघु सबस्टेशनमा जोडिने छ ।
मेवाखोलाबाट हिउँदमा ९ करोड ७४ लाख २४ हजार र वर्खामा २० करोड ५५ लाख ८७ हजार गरी बार्षिक कुल ३० करोड ३० लाख ११ हजार युनिट बिजुली उत्पादन हुने छ ।
आयोजनाले वार्षिक एक अर्ब ८० करोड रुपैयाँको विद्युत बिक्री गर्ने र ७ वर्षमै लगानी फिर्ता हुने प्रक्षेपण गरेको छ ।
मेवाखोला जलविद्युत आयोजनाका लागि प्रसारणलाइन बनाइने भएको छ । मेवाखोलाको बिजुली ढुंगेसाँघुसम्म पुर्याउन प्रसारणलाइनको योजना अघि बढेको हो ।
मेरिङदेन-३ मा निर्माणाधीन जलविद्युत आयोजनाको स्वीचयार्डदेखि सुरु हुनेछ । ७ किलोमिटर लम्बाइको प्रसारणलाइन आठराई त्रिवेणी गाउँपालिका-५ हुँदै मैवाखोला गाउँपालिका १ मा रहेको नेपाल विद्युत प्राधिकरणको ढुंगेसाँघु सवस्टेसनमा जोडिने छ । प्रसारण लाइनको काम एक वर्षमा सक्ने लक्ष्य कम्पनीको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाशमा युनाइटेड मोदीले बिजुली बिक्रीबाट २१ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको छ । नौ महिनामा युनाइटेड मोदीले १ करोड ९९ लाख रुपैयाँ खुदनाफा गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।