काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलाई आगामी वर्षदेखि बैंक खातामार्फत नै पुरस्कारको रकम दिने व्यवस्था मिलाइएको बताएका छन् । अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलाई सरकारले पुरस्कारको घोषणा गरेपनि अझै दिन नसकेको भन्दै आलोचना भईरहेका बेला उनले आगामी आर्थिक वर्षको बजेटमा सोको व्यवस्था गरिएको बताएका हुन् ।
आईतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बजेट आवश्यक भएकाले प्रदेश र स्थानीय तहमा ससर्त अनुदान कार्यक्रमका लागि बजेट विनियोजन गर्न नसकिएको पनि स्पष्ट पारे । उनले एशीयन र साग खेलकुदमा पदक विजेता खेलाडीहरुका लागि ६ हजारका दरले मासिक भत्ताको पनि व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गरिएको जानकारी दिए ।
मन्त्री श्रेष्ठले भने, ‘अन्तराष्ट्रिय पदक विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा पुरस्कारको व्यवस्था गरिए अनुसार ४ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ । आगामी वर्षदेखि पदक बिजेता खेलाडीलाई बैंक खातामार्फत नै पुरस्कारको रकम जाने व्यवस्था मिलाइएको छ ।
ओलम्पिकमा सहभागी एशियन खेलमा पदक बिजेता, साग खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीहरु ३५७ जना मासिक ६ हजारको दरले मासिक भत्ता प्रदान गर्न बजेट विनियोजन गरिएको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि रकम विनियोजन गर्नु परेकाले प्रदेश र स्थानीय तहमा ससर्त अनुदानका कार्यक्रमहरुलाई बजेट विनियोजन हुन नसकेको हो । ’
मन्त्री श्रेष्ठले युवाहरुलाई कुलतमा राख्न नदिन पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा केही रकम विनियोजन गरेको बताए ।