काठमाडौं । अर्थतन्त्रमा देखिएको आन्तरिक समस्याको समाधान मौद्रिक नीतिबाट मात्र नखोज्न नेपाल राष्ट्र बैंकले सरकारलाई सुझाएको छ । पछिल्लो समयमा वित्त नीतिबाट अर्थतन्त्रमा देखिएको समस्या समाधान नखोजेर र केबल मौद्रिक नीतिमा भर पर्ने गरेको आरोप सरकारलाई लाग्दै आएका बेला राष्ट्र बैंकले पनि विकल्प खोज्न सुझाएको हो । कोभिड महामारी सुरुभएयता मौद्रिक नीतिबाट मात्र रोगी अर्थतन्त्रको उपचार खोज्ने गरेको आरोप सरकारलाई लाग्दै आएको छ ।
चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा मुद्रास्फीति लक्षित सीमाभित्र आएको, बाह्य क्षेत्र सुधार भई विदेशी विनिमय सञ्चिति बढेको र ब्याजदर उल्लेख्य घटेको बताएका छन् । उनले बैंक तथा वित्तीय संस्थाहरुसँग लगानीयोग्य साधन बढ्दै गए पनि कर्जा विस्तार अपेक्षित रुपमा बढ्न सकेको बताएका छन् ।
कर्जाको ब्याजदर उल्लेख्य घटेको अवस्थामा समेत आन्तरिक मागमा उल्लेख्य सुधार हुन नसकेको बताएका छन् । यस्तो अवस्थामा मौद्रिक नीतिमार्फत मात्र कर्जाको माग बढाउन कठिन हुने गम्भीर संकेत गभर्नर अधिकारीले गरेका छन् । उनका भनाइअनुसार अब मौद्रिक औजार प्रयोगबाट मात्र कर्जा विस्तार हुँदैन् । सरकारले पनि लगानीको वातावरण बनाउनुपर्ने सुझाएका छन् ।
मौद्रिक सहजीकरणमार्फत अर्थतन्त्रको समष्टिगत माग विस्तारको लागि अधिक प्रयत्न गरिँदा त्यसले दीर्घकालमा पनि राम्रो परिणाम नदिने संकेत गभर्नर अधिकारीको छ ।मौद्रिक उपकरणमार्फत सोहीअनुरुप वास्तविक क्षेत्रमा सुधार नभए आगामी दिनमा मुलुककको वित्तीय स्थायित्व जोखिममा पर्न सक्ने चेतावनी गभर्नरले दिएका छन् ।
यस्तो अवस्थामा मौद्रिक नीतिमार्फत अल्पकालीन सहजता कायम गर्दैै दीर्घकालीन वित्तीय स्थायित्व हासिल गर्ने गभर्नर अधिकारीले चुनौती देखाएका छन् । २०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जाको वार्षिक बिन्दुगत वृद्धिदर ५.६ प्रतिशत मात्र छ ।
यसअवधिमा वार्षिक बिन्दुगत आधारमा २०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट भएको निक्षेप परिचालन १२.६ प्रतिशत वृद्धि भएको छ । निक्षेपको ब्याजदरमा कमी आए पनि विप्रेषण आप्रवाहमा भएको सुधारको कारण निक्षेप परिचालन बढेको राष्ट्र बैंकले जनाएको छ ।
समयमा नै पुँजीगत खर्च अपेक्षित रुपमा हुन नसक्नु, आर्थिक वृद्धिदर न्यून रहनु, आर्थिक गतिविधिहरु अपेक्षित रुपमा सुधार नहुनु र निजी क्षेत्र पहिले नै अधिक ऋण भारमा रहनु जस्ता कारणले कर्जा विस्तार सुस्त रहन गएको ठहर केन्द्रीय बैंकको छ । यसका लागि सरकारले पनि पहल गर्नुपर्ने आसय गभर्नर अधिकारीको छ ।
उनले सन् २००८ को वित्तीय संकटले मौद्रिक नीति र समष्टिगत विवेकशील नियमनबीच तादात्म्यता अपनाउँदा वित्तीय स्थायित्व कायम गर्न सकिने पाठ सिकाएको उदाहरण दिएका छन् । केन्द्रीय बैंकहरुले मौद्रिक नीति र विवेकशील नियमन नीतिबीच सुदृढ समन्वय र सामञ्जस्यतामा जोड दिने गरेको गभर्नर अधिकारीले औल्याएका छन् ।
राष्ट्र बैंकलेसमेत मौद्रिक नीति र समष्टिगत विवेकशील नियमनबीचको समन्वय र तादात्म्यतामा जोड दिँदै आएको उनले स्पष्ट पारेका छन् । लगानीमा रहेको कर्जा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा अधिक रहेको भए पनि पछिल्लो दुई वर्ष कर्जा प्रवाहको वृद्धिदर कम छ ।
अर्कोतर्फ पछिल्ला महिनाहरुमा बैंकिङ प्रणालीमा कर्जा असुली प्रभावित भई निष्क्रिय कर्जा अनुपात बढेको छ । यसले वित्तीय स्थिायित्वमा चुनौति थपेको गभर्नर अधिकारीको भनाई छ । पछिल्लो समयमा कर्जाको गुणस्तर घट्दै गएकाले आगामी दिनमा वित्तीय स्थिायित्वमा गम्भीर चुनौति थपिएको गभर्नर अधिकारीको भनाई छ ।
मौद्रिक नीतिको पूर्णपाठ भिडियो
मौद्रिक, वित्तीय तथा विदेशी विनिमयसँग सम्बन्धित व्यवस्थाहरुमार्फत समष्टिगत आर्थिक र वित्तीय स्थायित्व कायम राख्दै केन्द्रीय बैंकले कर्जा प्रवाहमा सुधार गरी आर्थिक गतिविधि सहज बनाउन प्रयास गर्न सक्दछ । अधिक तरलता रहेको स्थितिमा कर्जाको माग बढाउन र आर्थिक समस्याहरु समाधान गर्न अन्य नीतिहरुको सक्रियता पनि आवश्यक पर्ने नीतिमा उल्लेख छ ।
पुँजी पर्याप्तता लगायतका परिसूचकहरुबाट वित्तीय स्थायित्वमा दबाब पर्न नदिनेतर्फ सजग रही मौद्रिक नीतिसँग सामन्जस्यता कायम गर्दै नियामकीय नीति तर्जुमा गर्ने व्यवस्थालाई निरन्तरता दिनुपर्ने उनका सुझाव छन् । विप्रेषण आप्रवाह उत्साहजनक रहेको, आयात संकुचनका साथै पर्यटक आगमन बढेको कारण विदेशी विनिमय सञ्चिति उच्च रहेको अवस्था छ । उत्पादनशील भौतिक पूर्वाधारको निर्माण, उत्पादनमूलक उद्योगहरुको स्थापना, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन हुने गरी विदेशी विनिमय सञ्चितिको उपयोग गर्ने अवसर रहेको गभर्नर अधिकारीले बताएका छन् ।
आयात घटेको र यसको संरचनागत परिवर्तन हुँदै गएको, आर्थिक क्रियाकलापमा सुधार आउन बाँकी रहेको परिप्रेक्ष्यमा राजस्व परिचालन कमजोर रही सरकारी वित्त दवाव छ । फलस्वरुप, पछिल्लो दशकमा कुल तिर्न बाँकी सार्वजनिक ऋण करीब दोब्बरले वृद्धि भई २०८१ असारसम्ममा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४२.४ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को लागि प्रस्तावित खुद आन्तरिक ऋण परिचालनले बैकिङ प्रणालीमा सहज तरलता रहेको अवस्थामा ब्याजदरमा खासै दवाव नपार्न सक्दछ, तर सार्वजनिक ऋणको उत्पादनशील प्रयोगको आवश्यकतामा मौद्रिक नीतिले जोड दिएको उनले उल्लेख गरेका छन् ।
कसिलो मौद्रिक नीति आवश्यक भएको संकेत गर्दै गभर्नर अधिकारीले विश्वभर केन्द्रीय बैंकहरुले सन् २००८ को वित्तीय संकट र कोभिड–१९ जस्तो विषम परिवेशमा अवलम्बन गरेका गैर–परम्परागत नीतिगत व्यवस्थाहरु अर्थतन्त्र लयमा फर्किएसँगै हटाएको बताएका छन् ।
राष्ट्र बैंकलेसमेत कोभिड–१९ को विषम परिस्थितिमा गैर–परम्परागत नीतिगत उपायहरु अवलम्बन गरी आर्थिक क्रियाकलापलाई निरन्तरता दिन सघाऊ पुर्याएको र आर्थिक–सामाजिक क्रियाकलापको लागि अवस्था सहज भएसँगै उक्त व्यवस्थाहरु क्रमशः हटाएको छ ।
यद्यपि, सरोकारवालाहरुबाट आन्तरिक अर्थतन्त्रमा आउने हरेक समस्याहरुको सम्बोधनका लागि आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले ११ उपायहरुको बारम्बार प्रयोगको अपेक्षा हुने गरेको पाइन्छ । तर, अन्तर्राष्ट्रिय असल अभ्यासअनुरुप केन्द्रीय बैंक आफ्नोे मुख्य उद्देश्य पूरा गर्न जिम्मेवार बन्नुपर्ने छ ।
कोभिड–१९ को विश्वव्यापी संकटबाट विश्व अर्थतन्त्र माथि उठ्न नपाउँदै शुरु भएको रुस–युक्रेन युद्ध र अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासदेखिको मध्यपूर्वको तनाव जारी रहेको छ । सामुद्रिक ढुवानी रुटहरुमा व्यवधान भइरहेको अवस्था छ । उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रहरुको मुद्रास्फीति लक्ष्यभन्दा माथि नै रहेको छ । फलस्वरुप, धेरैजसो केन्द्रीय बैंकहरुले लिएको कसिलो नीतिगत कार्यदिशालाई नै निरन्तरता दिईरहेको गभर्नर अधिकारीले बताएका छन् ।