logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • १०६ मेगावाटको जगदुल्ला आयोजना बनाउन २३ अर्ब ५९ करोड लगानी स्वीकृत

    १०६ मेगावाटको जगदुल्ला आयोजना बनाउन २३ अर्ब ५९ करोड लगानी स्वीकृत

    217
    Shares
    १०६ मेगावाटको जगदुल्ला आयोजना बनाउन २३ अर्ब ५९ करोड लगानी स्वीकृत

    काठमाडौं । प्रारम्भीक चरणमा रहेको प्रस्तावित १ सय ६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना बनाउन २३ अर्ब ५९ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा सम्पन्न लगानी बोर्डको ६०औँ बैठकले आयोजना बनाउन आवश्यक लगानी स्वीकृत गरेको हो । आयोजनामा नबिल बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन ।

    नबिल बैंकले ४ अर्ब ४० करोड रुपैयाँ लगानी गर्नेछ । सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल), कर्मचारी सञ्चय कोष, लक्ष्मी सनराइज बैंक र एभरेष्ट बैंकले ऋण लगानी गर्ने भएका छन् ।

    यस्तै, एचआइडिसीएलले ४ अर्ब रुपैयाँ लगानी गर्नेछ भने कर्मचारी सञ्चय कोषले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएका छन् । आयोजना निर्माणका लागि २३ अर्ब ५९ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    जसमध्ये करिब १६ अर्ब १८ करोड रुपैयाँ ऋण र सात अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) बाट जुटाउन लागिएको छ । आयोजना बनाउन प्रति मेगावाट लागत २२ करोड ३० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । आयोजनाको निर्माणपछि वार्षिक रुपमा चार अर्ब ८० लाख रुपैयाँ आम्दानी हुनेछ ।

    ६९ प्रतिशत बैंकको ऋण र बाँकी ३१ प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ । संस्थापक सेयरधनीका रुपमा विद्युत उत्पादन कम्पनीको २६ प्रतिशत बराबरको शेयर स्वामित्व छ । एचआइडिसिएलको १० प्रतिशत, विद्युत प्राधिकरण नौ, कर्णाली प्रदेश सरकारको पाँच प्रतिशत, जगदुल्ला र मुड्केचुला गाउँपालिकाको समान एक एक प्रतिशत बराबरको स्वामित्व रहेको छ ।

    सर्वसाधारण शेयरधनीका रुपमा सर्वसाधारण नागरिकले ३३ प्रतिशत, आयोजना प्रभावित डोल्पाका बासिन्दाले १० प्रतिशत, प्रसारण लाइन प्रभावित बासिन्दा र आयोजनाका कर्मचारीले समान तीन तीन प्रतिशत सेयर लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

    कम्पनीको जारी पुँजी ७ अर्ब १ करोड रुपैयाँ छ । आयोजनाले २०७४ असार १८ गते विद्युत उत्पादनको सर्वेक्षणपत्र प्राप्त गरेको थियो । विद्युत प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र २०७६ पुस १६ गते प्राप्त गरेको थियो । आयोजनाबाट उत्पादित बिजुली खरिद बिक्रीसम्बन्धी सम्झौतामा गत वैशाख २७ गते हस्ताक्षर भएको हो । आयोजनाको आवश्यक तयारीको काम पूरा भइसकेको छ । जग्गा अधिग्रहण कार्यअन्तर्गत २ सय ५५ रोपनी जग्गाको मुआब्जा वितरणको काम पूरा भएको छ ।

    आयोजना सन् २०२९ को जुनमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । विद्युतगृह स्थलमा थप जिओलोजिकल अध्ययनका लागि ४ सय ६० मिटर बराबरको टेस्ट अडिट टनेलका साथै २५ मिटरको च्याम्बरको निर्माण सम्पन्न भएको छ ।

    भौतिक निर्माणका लागि आवश्यक ठेकेदार छनोटका लागि गत जेठको तेस्रो साता विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) आह्वान भएको छ ।

    जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले मुख्य निर्माण कार्य लट २ सिभिल तथा हाइड्रोमेकानिकल कार्यका लागि विश्वव्यापी रुपमा बोलपत्र आह्वान गरेको हो ।

    आयोजना डोल्पाको मुडकेचुला र जगदुल्ला गाउँपालिकामा निर्माण हुनेछ । आयोजनाबाट उत्पादित बिजुली एक सय ३२ केभी क्षमताको प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने बाफिकोट सवस्टेसनमा जोडिनेछ ।

    अर्धजलाशयुक्त प्रकृतिको सो आयोजनाको ग्रस हेड ७ सय ८९ मिटर छ । आयोजनाले वार्षिक ६२ करोड ३३ लाख २० हजार युनिट बिजुली उत्पादन गर्ने अध्ययनले देखाएको छ ।

    आयोजनामा कूल २३ मिटर उचाइ र ९३ मिटर लम्बाइ भएको बाँध निर्माण हुनेछ । यस्तै, जगदुल्ला गाउँपालिका–१ को हुरिकोटमा बाँध निर्माण गरी छ दशमलव एक किलोमिटर लामो सुरुङमार्फत लगिएको पानी मुड्केचुला गाउँपालिका–४ मा निर्माण हुने विद्युत् गृहमा खसालेर बिजुली निकालिने छ ।

    आयोजनाको सम्पूर्ण अध्ययन तथा डिजाइनको काम प्राधिकरणकोे सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनी लिमिटेडले गरेको हो ।

    आयोजनाको निर्माण अवधि पाँच वर्ष रहेको छ । सो आयोजनासँगै १ सय २० मेगावाट क्षमताको जगदुल्ला ए आयोजनाको पनि अध्ययन जारी छ । विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० र वातावरणीय अध्ययनको काम भइरहेको छ । यस्तै, लगानीको ढाँचा तय गर्ने काम पनि सँगसँगै भइरहेको छ । सो आयोजनाको कूल लागत २७ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ ।

    यो पनि : 

    जगदुल्ला जलविद्युतको ४ प्रतिशत वित्तीय प्रगति, प्रति मेगावाट लागत २२ करोड ३० लाख

    जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान

    नबिल बैंकको ‘लिड’ मा जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend