काठमाडौं। तीन एक दिवसीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा भारतले इङ्ल्याण्डलाई ६६ रनले पराजित गरेको छ।
गएराति भएको खेलमा भारतले इङ्ल्याण्डलाई जितका लागि ३१८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको भारतले पाँच विकेटको क्षतिमा ३१७ रन बनायो।
इङ्ल्याण्डले ४२ ओभर एक बलमा मात्रै २५१ रन बनाउन सक्यो। पहिलो खेल खेलिरहेका तीव्र गतिका बेलर प्रसिद्ध कृष्णले शानदार प्रदर्शन गर्दै ८ ओभर १ बलमा मात्रै ५४ रन दिएर चार विकेट लिए। इङ्ल्याण्डका लागि ओपनर जोनी बेयरस्टोले ६६ बलमा ९४ रन बनाए।
भारतका लागि शिखर धवनले ९८ तथा केएल राहुलले अविजित ६२ रन बनाए। जितसंगै तीन खेलको शृङ्खलामा भारतले १–० को अग्रता लिएको छ।