१, हजुरबालाई अर्को अस्पतालमा भेन्टिलेटरमा रहेकी श्रीमतीको चिन्ता छ । वास्तवमा हजुरआमा बितिसक्नुभएको उहाँलाई सुनाइएको छैन परिवारसँगको सल्लाहमा । अझै निकै अक्सिजन चाहिने हजुरबा सधैं मलाई डिस्चार्ज गरिदिनू न डा. साब भन्नुहुन्छ ।
२, अर्का बा बिस्तारै तङ्ग्रिंदै हुनुहुन्छ। उहाँलाई पनि भाइको भर्खर मृत्यु भएको सुनाइएको छैन ।
३, अर्का बा–आमा दुवैजनालाई कोभिड । एकजना कान पटक्कै नसुन्ने, अर्कोले बुझाइदिनुपर्ने । छोराको अर्को अस्पतालको आईसीयूमा मृत्यु भएको खबर कान सुन्ने चाहिँलाई सुनाइयो । उहाँले जीवनसाथीलाई बताउन सक्नुभएन । दुईदिनदेखि आँसु लुकाउँदै रोइरहनुभएको छ ।
४, ५/६ दिनअघि डिस्चार्ज भएर जानुभएकी आमा ओपीडीमा फलोअपमा । रातभरि सुत्नुहुन्न भनेर छोरीले भन्छिन् । अरू लक्षण छैनन् । जाँच्दा सबै राम्रै छ । म ‘आमा, अझै रोगदेखि डराइरहनुभएको छ कि ? अब त डराउनुपर्दैन, अब बाँचियो है’ भन्छु ।
आमाले ‘खै आफू मात्र बाँचेर के गर्नु बाबु, उहाँले छोडेर गइहाल्नुभयो’ भन्दै बरर्र आँसु झार्नुहुन्छ । बा उहाँ अस्पतालमै हुँदै बित्नुभएको रहेछ ।
महामारीको अघिल्लो उभारको बेलाको एउटा अनुभवः
५, दाइ उमेरका उहाँ । खासमा झन सिकिस्त उहाँकी श्रीमतीलाई पनि हाम्रै ईमर्जेन्सीमा ल्याइएको रहेछ । तर आईसीयूमा बेड नभएकोले भाउजूलाई चाहिं अर्को अस्पतालमा रेफर गरिएको रहेछ । हरेक दिन राउन्डमा उहाँ मलाई लौन मेरी श्रीमतीलाई पनि यहीँ आईसीयूमा सार्न बेड मिलाइदिनोस् न भन्नुहुन्थ्यो । अन्यत्र बेडै नपाएका अरू सिकिस्त बिरामी पनि धेरै आइरहेका छन्, तिनलाई आईसीयूमा प्राथमिकता दिनु परिहाल्छ, उता पनि तपाईंकी श्रीमतीको उपचार गर्ने राम्रो टिम होला, चिन्ता नलिनुहोस् भन्थेँ । निको भएर डिस्चार्ज हुने दिन दाइले भर्खर भाउजूको मृत्युको खबर पाउनुभएको रहेछ । रुँदै भन्नुभोः डा साब, तपाईंले उसलाई यहाँ आईसीयूमा सारिदिनुभएको भए ऊ पक्कै बाँच्थी ।
यस्ता बेलामा ती अथाह वेदनामा रहेकालाई के भन्ने ? समवेदना जुन ‘सम’ कसैगरी हुनै सक्दैन– पनि कसरी दिने ?
यस्तो बेलामा कसरी सान्त्वना दिने केही भेउ नपाएको, पूरै निरीह मजस्ताले कहिलेसम्म यस्तो सधैँ फेल भइने, सधैँ भाग्न मन लाग्ने जाँचमा परिरहनुपर्ने होला ?
महामारीमा मेरा बिरामीका जस्ता कथा कति होलान् ?
स्वास्थ्यकर्मीहरूका फुकाउन मिल्ने नमिल्ने मनका गुजुल्टा कति होलान् ? मैले त्यस बेला त्यसो गरेको भए पो बचाउन सकिन्थ्यो कि भन्ने कति कति थान ‘गिल्ट’ सँगालिनेछन् होला महामारी सकिँदासम्म ?
अन्त्य गर्न नजानेर प्रश्नमै टुङ्ग्याएँ ।
-डा. अनुप सुवेदीकाे फेसबुकबाट । सुवेदीले कोभिडबाट ग्रसित एउटा परिवारसँगको उपचार अनुभव सामाजिक सञ्जालमा यसरी शेयर गरेका हुन् ।