एजेन्सी । कोरोना महामारीकै बीच पनि टोकियो ओलम्पिक हुने भएको छ । टोकियो ओलम्पिक २०२० की अध्यक्ष सेइको हासिमोतोले प्रतियोगिता हुनेमा आफू शत प्रतिशत विश्वस्त रहेको बताएकी छिन् । ओलम्पिक जुलाई २३ देखि सुरु हुने समयतालिका छ ।
ओलम्पिक खेलको तयारी तीब्र रुपमा अगाडि बढिरहेको छ । कोरोनाकालमा ओलम्पिकको सफल आयोजना गर्न प्रयासरत आयोजक समितिसामु धेरै चुनौतीहरु छन् । यसैबीच ओलम्पिकको परम्पराअनुसार खेलमा भाग लिनका लागि आएका खेलाडीहरुलाई ओलम्पिक गाउँमा रहँदा निःशुल्क कण्डम बाँडिनेछ । तर, त्यो कण्डम खेलाडीहरुले त्यहाँ रहँदा भने प्रयोग गर्न पाउने छैनन् ।
यस वर्ष १ लाख ६० हजारभन्दा धेरै कण्डम खेलाडीहरुलाई निःशुल्क बाँड्ने तयारी रहको छ । इनसाइडरको रिपोर्ट अनुसार आयोजक समितिले खेलाडीहरुलाई यी कण्डम प्रयोगमा रोक लगाएको छ । खेलाडीहरुले यी कण्डमहरु सम्झनास्वरुप घर लैजान सक्नेछन् ।
अन्तर्राष्ट्रिय ओलम्पिक समितिले सन् १९८८ देखि सुरक्षित सेक्स र एचआईभी रोकथामको उदेश्यका साथ खेलहरूमा कन्डम वितरण गर्ने अभ्यास सुरु गरेको थियो । सोही अभ्यासलाई परम्पराको रुपमा अहिले पनि जारी राखिएको छ ।
यसअघि २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा ४ लाख ५० हजार कण्डम बाँडिएको थियो । यस पटक २०२१ ओलम्पिकमा ११ हजार खेलाडी सहभागी हुनेछन् । यस हिसाबले एक जना खेलाडीको भागमा १४ वटा कण्डम पर्छन् ।
खेलाडीहरुले आफ्नो घरेलु जमिनमा पुगेपछि मात्रै ती कण्डम प्रयोग गर्न पाउनेछन् । अर्थात जापानकै खेलाडीबाहेक अन्य देशका खेलाडीले यी कण्डम जापानभित्र पनि प्रयोग गर्न पाउने छैनन् । जापानी खेलाडीहरुले भने ओलम्पिक गाउँमा रहँदा प्रयोग गर्न पाउने छैनन् । घर गएपछि भने प्रयोग गर्न पाउनेछन् ।