काठमाडौं । फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट अन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले अस्ट्रेलियाको सामना गर्दैछ ।
कुवेतको जाबेर अल–अहमद रंगशालामा आज (शुक्रबार)राति पौने १० बजेबाट सुरु हुने खेलमा नेपालले अष्ट्रेलियासँग भिड्ने छ। विश्वकप छनोटअन्तर्गत दोस्रो चरणमा प्रवेश गरेको नेपालको तेस्रो चरणमा पुग्ने सम्भावना भने अन्त्य भइसकेको छ। तर एसिया कपको तेस्रो चरणको छनोटको सम्भावना बाँकी छ।
फिफा वरियतामा ४१ नम्बरमा रहेको अस्ट्रेलिया नै नेपालले अहिलेसम्म सामना गरेको बरियताका आधारमा सबैभन्दा ठूलो टोली हो । यसअघि २०१९ को अक्टोबर १० मा खेलिएको पहिलो लेगमा नेपाल ५–० ले पराजित रहेको थियो ।
नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालले आफ्नो खेल्ने शैली परिवर्तन गरेको र यसले समर्थकलाई खुसी दिएको बताउँदै अस्ट्रेलियासँग नेपाल टिमको अर्को एउटा सकारात्मक प्रदर्शनको आशा गरिएको बताएका छन् ।