एजेन्सी । युरो-२०२० मा फिनल्यान्डसँगको खेलमा मैदानमा ढलेका डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन अस्पताल भर्ना भएका छन् ।
खेलको ४२ औँ मिनेटमा आफ्नै साथीले दिएको बल नियन्त्रणमा लिन अगाडि बढ्ने क्रममा एरिक्सन अचानक भुइँमा लडेपछि घाइते भएका थिए । १५ मिनेटसम्म खेल मैदानमै उनको उपचार प्रयास गरिए पनि अवस्था गम्भीर भएपछि अस्पताल लगिएको थियो ।
डेनिस फुटबल संघले उनी होसमा आएको र स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ । त्यस्तै समाचार संस्था रोयटर्सले मैदानबाट स्ट्रेचरमा बाहिर लैजाँदै गर्दा एरिक्सनले हात उठाएको उल्लेख गरेको छ ।
एरिक्सनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि यूईएफएले डेनमार्क र फिनल्यान्डबीचको खेल स्थगित गरेको थियो । एरिक्सनको स्वास्थ्य अवस्थामा सुधार आएसँगै खेल पुन: सुरु हुने डेनिस फुटबल संघले जनाएको छ ।
आक्रामक मिडफिल्डरको रुपमा खेल्ने एरिक्सन इटालियन क्लब इन्टर मिलानका लागि खेल्ने गरेका छन् । डेनमार्कका लागि सर्वाधिक गोलको कीर्तिमान एरिक्सनकै नाममा रहेको छ ।