काठमाडाैं । कोपा अमेरिका सोमबारदेखि ब्राजलिमा सुरु हुन लागेकाे छ । ४७ औं संस्करणको कोपा अमेरिका यसअघि कोलम्बिया र अर्जेन्टिनामा हुने भनिए पनि अन्तिम समयमा आएर आयोजकको भूमिका ब्राजिलले पाएको हो ।
कोलम्बियामा विरोध प्रदर्शन भएपछि अर्जेन्टिनाले एकल रुपमा प्रतियोगिता गर्ने तयारी गरेको थियो । तर कोरोना महामारीका कारण अर्जेन्टिनाबाट याे खेल ब्राजिलमा सारिएको हो ।
काेपा अमेरिकामा पहिलाे खेल घरेलु टोली ब्राजिलले भेनेजुएलासँग खेल्नेछ । खेल नेपाली समय अनुसार सोमबार बिहान २:४५ बजे सुरु हुनेछ । उद्घाटन खेल ब्रासिलियास्थित स्टाडियो नासिओनाल माने गारिन्चामा हुनेछ ।
ब्राजिल र भेनेजुएला कोपा अमेरिकामा नवौं पटक खेल्न लागेको हो । यसअघिको ८ खेलमा ब्राजिलले जित हात पारिसकेकाे छ । ब्राजिल घरेलु मैदानमा खेलिएको कोपा अमेरिकाको २० खेलमा अपराजित छ ।