तस्बिर : रोयटर्स
काठमाडौं । साविक विजेता पोर्चुगलले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।
मंगलबार भएको खेलमा क्रिस्टियानो रोनाल्डोको कीर्तिमानीमा पोर्चुगलले अन्तिम ८ मिनेटमा तीन गोल गर्दै ‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘एफ’ को पहिलो खेलमा महत्त्वपूर्ण जित निकालेको हो ।
घरेलु टिम हंगेरीले पहिलो हाफमा पोर्चुगललाई बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफको अन्तिम १० मिनेट भित्र तीन गोल व्यहोर्यो ।
खेलको ८४ औं मिनेटमा राफायलले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए ।
८७ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता २-० को बनाए । त्यसपछि खेलको इन्जुरी समयको दोस्रो मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३-० को जित दिलाए ।
पहिलो गोल गरेसँगै उनी युरोपियन च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने खेलाडी बने । उनले युरोपियन च्याम्पियनसिपमा आफ्नो कुल गोल संख्या ११ पुऱ्याएका छन् ।