युरोकप फुटबलमा शुक्रबार तीन खेल हुँदैछन् ।
शुक्रबार पहिलो खेलमा समूह ‘ई’ मा रहेका स्विडेन र स्लोभाकिया खेल्नेछन् । यो खेल नेपाली समय अनुसार बेलुकी पौने ७ बजे हुनेछ ।
पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २-१ ले हराएको थियो । स्विडेन भने पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
यस्तै समूह ‘डी’ मा रहेका क्रोएसिया र चेक रिपब्लिकबीच दोस्रो खेल हुनेछ । यो खेल राति पौने १० बजे हुनेछ ।
क्रोएसिया पहिलो खेलमा इंग्ल्यान्डसँग १-० ले पराजित भएको थियो भने चेक रिपब्लिकले स्कटल्याण्डलाई २-० ले हराएको थियो ।
शुक्रबार नै राति पौने १ बजे इंग्ल्यान्ड र स्कटल्याण्ड खेल्नेछन् । समूह ‘डी’ को इंग्ल्यान्डले पहिलो खेलमा क्रोएसियालाई हराएको थियो भने स्कटल्याण्ड चेक रिपब्लिकसँग पराजित भएको थियो ।
युरोकप फुटबल युरोपका विभिन्न ११ शहरमा भैरहेको छ ।