एजेन्सी । युरोकप २०२० अन्तर्गत समूहचरणको दोस्रो खेलमा एक/एक गोल गर्दै फ्रान्स र हंगेरी बराबरीमा रोकिएका छन् ।
शनिबार घरेलु मैदानमा भएको खेलमा हंगेरीले फ्रान्सविरुद्ध पहिलो गोल गर्दै दबाव सिर्जना गरेको हो । यद्यपी, एन्टोनियो ग्रीजम्यानले एक गोल गरेपछि फ्रान्स हारबाट जोगिएको हो ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा रोलान्ड सालियाको पासमा एटीला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा फर्काए । उनले खेलको ६६ औं मिनेटमा गोल गरेका हुन् ।
त्यसबाहेक खेल अवधि भर विश्व विजेता फ्रान्सले एकतर्फी पकड जमाएको थियो । तर, गोल गर्न असफल भयो ।
यस बराबरीसँगै समूह ‘एफ’ को फ्रान्सले २ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । हंगेरी भने पहिलो अंक जोड्दै समूहको तेस्रो स्थानमा रहेको छ ।