काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दाबी गरेका दोस्रो तहका तीन नेताबीच छलफल भएको छ ।
कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भएको हो । निधिनिवास मध्यबानेश्वरमा भएको छलफलमा पार्टीको आगामी महाधिवेशनमा उम्मेदवारीको सन्दर्भमा छलफल भएको स्राेतले जनाएकाे छ ।
२ घण्टा लामाे भेट पार्टीको आसन्न महाधिवेशनमा केन्द्रित भएकाे बताइएकाे छ । छलफलमा आगामी निर्वाचनमा कांग्रेसको जित, गठबन्धनको तर्फबाट देउवालाई प्रधानमन्त्री बनाउन जोडतोडले लाग्ने विषयमा गठबन्धनका सबैबीच साझा धारणा बनाएर अघि बढ्ने विषय पनि समेटिएको थियाे ।
अब सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालगायतसँग पनि छलफल गर्ने समझदारी भएको बताइएकाे छ ।