काठमाडौं । सुरुवाती दुई खेल हारे पनि रुसमाथि जित हात पार्दै डेनमार्क युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ ।
सोमबार राति भएको खेलमा रुसलाई ४-१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।
घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक/एक गोलको योगदान गरे । रुसका लागि भने आर्टम ज्यूबाले एक गोल फर्काए ।
यस जितसँगै समूह ‘बी’ को डेनमार्कले ३ खेलमा ३ अंक जोड्यो । र, समूहको उपविजेता बन्यो ।
पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १-० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा डेनमार्कले बेल्जियमसँग २-१ ले पराजित भएको थियो । डेनमार्कसँग पराजित रुस भने अन्तिम स्थानमा रहँदै समूह चरणबाट बाहिरिएको छ ।