काठमाडौं । एमाले नेता माधव कुमार नेपालले एमाले एकताका लागि अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई अध्यक्ष ओली पक्षले कमजोरीका रुपमा लिएको बताएका छन् ।
मंगलबार बिहान ट्वीट गर्दै उनले भनेका छन्, ‘स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।’
कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट भएको उनले बताएका हुन् ।
सर्वोच्च अदालतले फागुन २८ पछि बनाइएको एमाले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएर कर्णालीका चार सांसदलाई पुनर्बहालीको आदेश दिएको थियो। यसबाट एमाले एक हुने सम्भावना बढेको भन्दै ओली तथा माधव नेपाल समूहका नेताले आन्तरिक विवाद मिलाउन प्रयास गरिरहेका थिए। तर ओली पक्ष अदालतको आदेशविरुद्ध भ्याकेट हाल्न पुगेको छ।
यस्तो हर्कतले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको सहजै देख्न सकिने उनले बताएका छन् । पार्टी एकताका लागि गरिएका अनौपचारिक वार्ता र संवादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन पनि उनले आग्रह गरेका छन् ।
स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।
— Madhav Kumar Nepal (@ncp_madhavnepal) June 22, 2021