काठमाडौं । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले आज थप तीन मन्त्रालयको पनि पदभार ग्रहण गर्ने भएका छन् ।
उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा गएर पदभार ग्रहण गर्न लागेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि २५ सदस्यीय मन्त्रिपरिषद हाल पाँच सदस्यमा कायम छ । सोही अनुसार प्रधानमन्त्री ओलीले मन्त्रालय बाँडफाँट गरिदिएका छन् ।
मन्त्री श्रेष्ठको सचिवालयका अनुसार स्वास्थ्य मन्त्रालयमा साढे १२ बजे, श्रम मन्त्रालयमा २ बजे र वन मन्त्रालयमा साढे ३ बजे मन्त्री श्रेष्ठले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।