काठमाडौं । एमाले नेता बेदुराम भुसालले स्वतन्त्र सांसदको हैसियतको माग गर्दै संसद् सचिवालयलाई पत्र लेखेका छन् । राष्ट्रिय सभा सदस्य रहेका भुसालले आइतबार संसद् सचिवालयमा पत्र लेख्दै आफू स्वतन्त्र सांसद रहेको जानकारी गराएका हुन् ।
नेता भुसालले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलापछि आफू नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संसदीय दलको सदस्य नभएको उल्लेख गर्दै आगामी दिनमा पनि कुनै दलको सदस्य नहुने बताएका हुन् । उनको यो कदमलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एमालेमा नेता माधव नेपाल पक्षमा रहेका भुसालले स्वतन्त्र सांसदको हैसियतको माग गर्नु कतै उनले सांसद पद जोगाउनतर्फ लागेका त होइनन् भन्ने आशंका गरिएको छ ।
सुनौलो नेपालसँगको कुराकानीका क्रममा सांसद पद जोगाउनका लागि उनले यो कदम अघि सारेको तर्फ संकेत गरेका छन् । एमाले भित्रको विवादकै कारण एक पक्षले अर्को पक्षलाई कारवाही गर्ने क्रमले प्रदेशका सांसदहरु प्रभावित बनेका छन् । यद्यपी, राष्ट्रिय सभामा यस्तो अवस्था आइसकको छैन नि ? भन्ने प्रश्नमा भुसालले भने, ‘१७ गतेदेखि बैठक हुँदैछ, त्यहाँ कता बस्ने भन्ने कुरा आउँछ । यही अवस्थामा रहिरहँदा स्वतन्त्र सांसदको हैसियतमा पछि कता लाग्ने भन्ने रोज्न पाइयो ।’ त्यस्तै उनले पद जोगाउनका लागि हो त भन्ने हाम्रो जिज्ञासामा भने, ‘मिलाएर बुझ्नुस् न ।’
एमालेभित्र अन्तरविरोध उत्कर्षमा पुगेका बेला भुसालको यस्तो निर्णय आएको हो । उनी तत्कालीन नेकपाको हैसियतमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । उनले पत्रमा सर्वोच्च अदालतले नेकपा भंग गरेपछि आफू दलविहीन भएको दाबी गरेका छन् ।
पत्रमा नेता भुसालले आफूले पाउने पारिश्रमिकबाट कुनै पनि रकम वा लेबी कुनै पनि दलको खातामा जम्मा नगरिदिन आग्रह समेत गरेका छन् । एमालेका सांसदको तलबबाट सचिवालयले लेवी कटाएर सिधै दलको खातामा पठाउने गरेको छ ।
यसैबीच नेकपा एमाले राष्ट्रिय सभा प्रमुख सचेतक खिमलाल भट्टराईले स्वतन्त्र सांसदको हैसियत माग गरेर वेदुराम भुसालले पार्टी र आन्दोलनमाथि गद्दारी गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत सचेतक भट्टराईले पार्टी परित्यागपछि उनी स्वतन्त्र हुन सक्ने भएपनि सांसद भई रहन सम्भव नहुने बताएका हुन् ।