काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकले ६ बुँदे प्रस्ताव पारित गरेको छ । शुक्रबार बालुवाटारमा बसेको बैठकले ६ बुँदे प्रस्ताव पारित गरेको एमालेले जनाएको छ ।
बैठकले पुष्पलाल, मनमोहन र मदन लगायतका अग्रजहरुप्रति सम्मान, कोभिडबाट मृत्युबरण गर्नुहुने सबैप्रति श्रद्धाञ्जली, सम्पूर्ण संक्रमितहरुप्रप्रति स्वास्थलाभको कामना, बाढीपहिरोबाट ज्यान गुमाउनुहुनेप्रप्रति श्रदासुमन अर्पण, घाइतेको स्वास्थ्यलाभको कामना र विस्थापितहरुको दीगो पुनर्स्थापनासँगै वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचारको व्यवस्था गर्ने प्रस्ताव पारित गरेको हो ।
यस्तै बैठकले पार्टीको आन्तरिक समस्या समाधानार्थ आह्वान गर्ने र चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सयवर्षको उपलक्ष्यमा चिनेले प्राप्त गरेका उपलब्धिका लागि चिनियाँ जनताप्रति हार्दिक बधाई दिने प्रस्ताव पारित गरेको हो ।
शुक्रबारको बैठकमा पार्टी अध्यक्ष केपी ओली, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलले बोलेका छन् ।
गौतमसहित हरि पराजुली, गणेश पहाडी लगायतका केन्द्रीय सदस्यहरु पार्टी विवादपछि पहिलोपटक उपस्थित भएका थिए ।
गौतमले आफू पार्टीमा फर्किएर आएको बताए । उनले पार्टीले जिम्मेवारी दिए पार्टी एकता गराउने बताए ।
बैठक शनिबार दिउँसो ३ बजे फेरि बस्नेछ । शुक्रबारको बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएन ।