काठमाडौं । विवाद समाधान गर्न गठित नेकपा एमालेको कार्यदलको दुई दिनदेखि जारी बैठक सकारात्मक दिशातर्फ उन्मुख भएकाले एमाले नेताहरू उत्साहित देखिएका छन्।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलको संयोजन गरिरहेका भीम रावलले सोमबारको बैठकमा सबै विषयमा जानकारी लिने काम भएको र मंगलबार बुँदागत रूपमा छलफल सुरु भएको बताएका छन्। उनका अनुसार सहमतिका बुँदामा कार्यदलका सबै सदस्यले धारणा राख्ने काम भएको छ। ‘कसरी अघि जान सकिन्छ भन्ने विषयमा बुधबार छलफल हुन्छ। टुंगो तुरुन्तै नलागे पनि समस्या समाधानका दिशामा अघि बढेका छौं,’ पार्टी उपाध्यक्षसमेत रहेका रावलले भने। यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।
मंगलबार साढे दुई घण्टा भन्दा बढी समय चलेको बैठकमा यसअघि तयार भएको मस्यौदामाथि छलफल भएको थियो। कार्यदलका सदस्यले पार्टीका सबै तहलाई मिलाउने गरी प्याकेजमा सहमति गर्न तयार मस्यौदामा छलफल भएको बताएका छन्।
सोमबारको तुलनामा मंगलबारको संवाद निकै सकारात्मक रहेको कार्यदलका सदस्यले बताएका छन्। बैठक बुधबार पनि बस्नेछ। बुधबारको बैठकले मूल विषयमा छलफल गरेर टुंगो लगाउने नेताहरूको दाबी छ।
कार्यदलमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। यस्तै वरिष्ठ नेता नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण बिष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्। नेताहरूले धेरै विषय कार्यदल तहबाटै टुंगो लगाउने र त्यहाँबाट टुंगो नलाग्ने विषयलाई ओली–नेपालबीच कुराकानी गराएर सुल्झाउने जनाएका छन्।