काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री कर्णबहादुर थापाले नेकपा एमालेकाे विवाद जसले सिर्जना गर्याे उसले नै समाधान गर्नुपर्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत कटाक्षसहित उनले हाँसी हाँसी पारेको गाँठो राेइराेइ फुकाउनु पर्छ भन्ने नेपाली उखान अहिले एमालेको जीवनमा ठ्याक्कै मिलेको उल्लेख गरेका छन् ।
उनले गाँठो पार्नेहरुलाई नै गाँठो फुकाउने विधि थाहा हुनुपर्ने पनि उल्लेख गरेका छन् । थापा नेकपा एमालेमा ओली निकट मानिन्छन् ।
उनले भनेका छन् ‘गाँठो पार्दा आफ्नै बुद्धिको प्रयोग भएको भए त इमान्दार प्रयास हुँदा फुकाउन पनि सकिएला । अरु कसैको बुद्धि पनि परेको छ भने फुक्न मुस्किल हुन्छ कि ?’
अब कुनै बहानावाजी नचल्ने अवस्था निर्माण भएको पनि उनले बताएका छन् । उनले मकै खाने भालु, कुटाइ खाने कालु गरेर आफू पानीमाथिको ओभानो हुन सकिन्छ भन्ने कसैले ठानेको छ भने त्यो ठूलो भुल हुने पनि बताएका छन् । उनले लेखेका छन्,’सबैको व्यवहारको आँकडा, आँकडा राख्नेहरुले सुरक्षित गरेका छन् ।’