काठमाडौं । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले शुक्रबार बस्ने कार्यदलको बैठकमा पार्टीभित्रका विवादित विषय सहमतिका साथ टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सिंहदरबारमा बिहीबार दोस्रो पटक भएको कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले सहमतिका लागि गृहकार्य भएको र शुक्रबार बिहान ११ः३० बजे बस्ने बैठकमा सबै विषय निष्कर्षमा पुग्ने बताए ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो ।
अध्यक्ष ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसद्ले हस्ताक्षर फिर्ता लिन आग्रह गर्नुभएको छ भने नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका थिए ।