काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रतिगमनकारीले पटक-पटक खड्ग प्रहार गरेको प्रतिनिधिसभा फेरि पुनर्जीवित भएको टिप्पणी गरका छन् ।
प्रतिनिधिसभामा बोल्दै भट्टराईले पुस ५ गतेबाट पटक-पटक जनताले बनाएको संविधानको हत्या गर्ने प्रयास भएको बताएका हुन् । उनले भने, ‘भित्री र बाहिरी शक्तिको कारणले यस्तो भयो । भष्मासुर प्रवृत्ति हावी भयो ।
राजनीतिक नेताहरुप्रति जनताको हेराइ राम्रो नभएको भन्दै उनले असल हुने कोशिस गर्न नेताहरुलाई आग्रह गरे ।
उनले भने, ‘सामाजिक सञ्जाल हेरौँ, हामीप्रतिको जनताको हेराइ राम्रो छैन । ओली त बिदा भए, तर तिमीहरू कति राम्रो छौ र भन्ने धेरै छन् । खराब भन्दा खराब चुन्ने काम भयो भन्दैछन् । त्यसैले असल हुने कोशिस गरौँ ।’