काठमाडाैं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी एकताको प्रयासलाई सफल बनाइछाड्ने दृढता व्यक्त गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले अनेकन प्रतिक्रियाहरूको बीचमा पनि पार्टी एकता आफूहरूको प्रयत्न कायम रहने उल्लेख गरेका हुन् ।
एमालेको निर्देशनविपरीत पार्टीका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि पार्टी एकता जटिल मोडमा पुगेको छ । विपक्षमा मत दिन पार्टीले दिएको निर्देशन नमान्दै विष्टसहितका ११ जना सांसद तटस्थ बसेका थिए ।
‘हामी पार्टीलाई एकताबद्ध गर्न निरन्तर प्रयत्न गरिरहेका छौँ । अनेकन प्रतिक्रियाहरूको बीचमा पनि पार्टी एकताका लागि हाम्रो प्रयत्न कायमै रहनेछ । यसबीचमा देखापर्ने विभिन्न घटनाक्रमहरूमा पनि एकताका लागि धैर्यता नगुमाऔं । पार्टी पंक्तिले एकता चाहेको छ । भावी पुस्तालाई सबल र एकीकृत कम्युनिस्ट आन्दोलन हस्तान्तरण गर्ने हाम्रो दृढ प्रयत्नले अवश्य पनि सफलता पाइ छाड्नेछ’ विष्टले लेखेका छन् ।