काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षका सांसदलाई छलफलका लागि बोलाएका छन् ।
पार्टी अध्यीक्ष केपी शर्मा ओलीले कारवाहीको तयारी गरेपछि नेपालले आफू पक्षका सांसद्लाई छलफलका लागि बोलाएका हुन् । सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको निर्णय विपरित विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। तर स्पष्टीकरण पत्र अहिलेसम्म पनि सम्बन्धित सांसदहरुलाई पठाइएको छैन।
मंगलबार छलफल गर्ने भनिएपनि समय र स्थान तोकिएको छैन ।
आइतबार एमालेको नेपाल पक्षका १४ जना र ओली पक्षका ८ जना गरी २२ जना सांसदले प्रधानमन्त्री देउवालाई संसद्मा विश्वासको मत दिएका थिए । अध्यक्ष ओलीले पार्टी ह्वीप विपरित विपक्षी दलका प्रधानमन्त्रीलाई विश्वासको मत दिने सांसदलाई कारवार्ही गर्न लागेपछि उनीहरु छलफलमा जुट्न लागेका हुन् ।
सांसदहरुसँग छलफल गर्नुअघि नेता नेपालले मंगलबार बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए।