logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • देउवालाई नेम्वाङको प्रश्न : तपाईंलाई कहिले जनादेश प्राप्त भयो ? 

    देउवालाई नेम्वाङको प्रश्न : तपाईंलाई कहिले जनादेश प्राप्त भयो ? 

    2.1K
    Shares

    काठमाडौं । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न कताबाट जनादेश प्राप्त भयो भन्दै प्रश्न गरेका छन् । 

    शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता नेम्वाङले जनताले जनमत नदिएको स्वीकार गरेका देउवालाई जनादेश कताबाट प्राप्त भयो भन्दै प्रश्न गरेका हुन् । 

    केही समयअघि आफूसँग जनमत नभएको हुँदा सरकारमा नजाने बताएका देउवा प्रधानमन्त्री बनेको प्रति कटाक्ष गर्दै नेम्वाङले यस्तो बताएका हुन् । ‘हामीलाई यस पटक जनताले जनमत दिएका छैनन् । त्यसकारण म सरकारमा जान्न भनेको सुनेको थिए’, देउवाको भनाइ उद्धृत गर्दै नेम्वाङले थपे, ‘अहिले त बधाई दिन यहाँ उभिएको छु । कहिले जनादेश प्राप्त भएछ ? मलाई थाहा भएन ।’  

    संविधानले निर्वाचनमार्फत् प्रधानमन्त्री बनाउने र निर्वाचित प्रतिनिधिमार्फत् देशले प्रधानमन्त्री पाउने व्यवस्था संविधानले गरेको र संविधानमा देशले प्रधानमन्त्री  पाउने विभिन्न धारा र उपधारा भए पनि देउवा त्यहाँबाट प्रधानमन्त्री नभएको भन्दै उनले यस्तो प्रश्न गरेका हुन् । 

    ‘संसदबाट होइन, जनताको जनादेशबाट होइन । तर, सम्मानित सर्वोच्च अदालतको परमादेशबाट हामीले प्रधानमन्त्री प्राप्त गरेका छौँ’, उनले थपे, ‘प्रधानमन्त्री हुनु भएकोमा उहाँलाई बधाई दिन दलको तर्फबाट म उपस्थित भएको छु । सर्वोच्च अदालतको फैसलाको विषयमा मैले यत्ति कुरा भन्नुपर्छ ।’

    नेम्वाङले अब देशमा कस्तो सिस्टम बसाउने र कसरी अगाडि बढाउने भन्ने विषयमा प्रधानमन्त्रीले पहल गर्नुपर्नेमा जोड दिए ।
     
    सर्वोच्च अदालतले संविधानको मर्ममाथि प्रहार गरेको उनको भनाइ छ । अदालतको फैसलाले शक्ति सन्तुलनको आधारभूत सिद्धान्तलाई कमजोर बनाएको आरोप उनको छ । 

    नेम्वाङले निर्वाचनमा जाने कुरालाई निरंकुश भन्नु नहुने भन्दै घुमाउरो पाराले प्रतिनिधिसभा विघटनको समर्थन गरे । उनले प्रतिनिधिसभा विघटनपछि केही प्रश्न उठेका भए पनि त्यसमाथि छलफल गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘ताजा जनादेशमा जाने कुरालाई हामीले निरंकुश भन्नु हुँदैन’, उनले भने, ‘केही प्रश्न उठ्छन् तर त्यसमाथि छलफल गरेर अगाडि बढ्नुपर्छ ।’

    सर्वोच्चको फैसलाले राज्यका तीन अंगको बीचमा कताकता सन्तुलन खलबल्याएको उनको भनाइ छ । यसरी अगाडि बढ्दा स्थिति ठिक नहुने उनको बुझाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend